Home Opinion हत्याको औचित्य हुँदैन

हत्याको औचित्य हुँदैन

0
0
विचार गरौं, युद्धमा मारिएकाहरूमध्ये कतिपय प्रचण्ड र बाबुरामभन्दा सामर्थ्यवान् नेता हुनसक्थे। लक्ष्मीप्रसाद देवकोटाभन्दा महान् कवि हुनेवाला पो हुने थिए कि? ‘जनयुद्ध’ सफल पार्ने हतारमा जनसाधारणको ‘सफाया’ गर्दा कति जना भविष्यका बुद्ध र बीपी कोइराला मारिए होलान्? त्यसैले हत्याको औचित्य नन्दप्रसादलेमात्र खोज्ने छैनन्। उनले त न्यायमै चित्त बुझाउने थिए। बास्तवमा समाजले भविष्य गुमाएको छ। त्यसैले एक दिन प्रत्येक मृत्युको औचित्य खोजिनेछ।
narayan
नारायण दत्त कँडेल

दोषीको संरक्षण गर्ने र पीडित वर्गविरुद्ध थप अन्याय गर्ने कार्यमा राज्यशक्तिको सक्रिय भूमिका देखिन थालेको छ। पीडितलाई न्यायिक उपचार दिनेभन्दा अपराधको परिभाषा बदलेर सदाचार बनाउने अभियान भएको छ शान्ति प्रक्रिया। स्वर्गीय नन्दप्रसाद अधिकारीले न्यायको माग गर्दै अनशनमा थिए। सरकार र माओवादीले नन्दप्रसादको माग पूरा गरे धेरै नेपालीको खुसी र भविष्य जोडिएको शान्ति प्रक्रिया भंग हुने डर देखाए। अनशनमै अधिकारीको मृत्यु भयो। के धेरै नेपालीको खुसीकै लागि पनि नन्दप्रसाद अधिकारीलाई मार्ने वा मर्न दिने अधिकार राज्यलाई हुन्छ?

सन् १८८४ मा बेलायतबाट हिडेको एउटा पानी जहाज दुर्घटनामा पर्योद। क्याप्टेन थोमस डुड्ले र क्याबिन परिचारक रिचार्ड पार्करसमेत चार जना बाँचे। उद्धारको आशामा बीच समुद्रमा ‘लाइफबोट’मा कुरी रहे। भएको थोरै पिउने पानी पनि सकियो । बाँच्नका लागि केही पिउन र खानु पर्ने थियो। समुद्रको पानी पिएकोले पार्कर अस्वस्थ भए। उनले पहिले नै आफन्तहरू गुमाएका थिए।अठारौँ दिन पनि उद्धार नभएपछि क्याप्टेन डुड्लेले एउटा युक्ति सुझाए। चारै जना मर्नुभन्दा तीन जनालाई बचाउन एक जना किन नमर्ने? धेरैको सुखद भविष्यका लागि एक जनाले किन बलिदान नदिने? उनीहरूमध्ये एक जना मारिएर तीन जनाको भोजन बन्नुपर्ने भयो। गोला हालेर मारिनेको तय हुने भयो। आफूलाई मर्ने चिट्ठा नपरोस् भन्ने मनमनै सबैले कामना गरिरहेका थिए। तर अचानक क्याप्टेनले कुरा फेरे। उनले भने पार्कर मारिँदा रुने र दुख मान्ने मानिस छैनन्। कोही विधवा वा टुहुरो पनि हुँदैन। बाँकि तीन जना मर्दा भने धेरै रुनेछन्। आफन्त पत्नी छोराछोरी उनीलाई जीउँदै फर्केको देखेर खुसी हुनेछन् तर पार्करलाई जीउँदै देखेर खुसी हुने पनि कोही छैन। धेरैको खुसीलाई ध्यान दिने हो भने पार्करले नै बलीदानी दिनुपर्छ। क्याप्टेन डुड्लेले आफ्नो निर्णय सुनायो। आफू बाँचिने भएपछि अन्य दुई जना सहजै सहमत भए। चक्कुले हानेर पार्करको हत्या गरियो।

क्वीनविरुद्ध डुड्ले नामले प्रसिद्ध यस मुद्दामा डुड्लेले कुनै विकल्प नभएको अबस्थामा पार्करको हत्या गरी धेरैको खुसी बचाएको तर्क गरे। अधिकतम मानिसको अधिकतम खुसीका लागि एकको क्षति उचित भन्दै आफनो कार्यको बचाउ गर्न खोजियो। कानुन र राजनीतिक सिद्धान्तमा नैतिकताको नियमको साटो अधिकतम मानिसको खुसीको मात्र खोजी हुनुपर्ने मान्यता यस घटनापछि सर्वथा अस्वीकार भयो। एक व्यक्तिका रूपमा पार्करको जीवन मूल्यको खोजी हुन थाल्यो। संख्यात्मक रुपमा धेरैको खुसीको रक्षाका लागि पार्करको मानव जीवनलाई नै वस्तुकरण गर्ने कार्यभित्र नैतिकताको खोजी हुन थाल्यो। खुसी हुने मानिसको संख्या र प्राप्त खुसीको परिमाणले मानव जीवनमाथि भएको हस्तक्षेपलाई स्वीकार्य बनाउन वा औचित्य सिद्ध गर्न सकेन।धेरैको खुसीका लागि एकाधको खुसीको हत्यालाई सामान्य ठान्ने अठारौं शताब्दीमै अस्वीकृत सिद्धान्तको विकृत स्वरुपलाई नेपालमा भने अहिले पनि सहजरूपमा स्वीकार गरिएको छ। देशको राजनीतिक नेतृत्व न्याय खोज्दै सत्याग्रह गरिरहेका नागरिकको मृत्युमा लज्जा बोध होइन बरु दोषीको सेवा गरेरै भए पनि शान्ति प्रक्रिया बचाएकोमा गौरव गर्दैछ! ‘नन्दप्रसाद मरेर के भो त? धेरै नेपालीको खुसीका लागि शान्ति प्रक्रिया बचेकै छ।’ यस प्रकरणमा हाम्रो राजनीतिक नेतृत्वको प्रतिक्रिया सारमा यही हो। बुझ्न नसकिएको सवाल के हो भने नन्दप्रसादलाई मर्न दिएर जीउँदै रहेका भनिएका नेपाली र तिनका सन्ततिको खुसीका लागि शान्ति प्रक्रिया बचाउने नैतिक अधिकारको स्रोत के हो?

नन्दप्रसादका पछाडि उनको छोराका हत्यारासँग जस्तो राजनीतिक जमात थिएन। त्यसैले उनको मृत्यु हँुदा पनि धेरै मानिस विरोधमा उत्रिएनन्। उनको छोरा मार्ने दोषी, पक्राउमात्रै पर्दा पनि आक्रोशित नारा जुलुस, विरोध गर्ने मानिस धेरै थिए। सरकारलाई बरु नन्दप्रसादलाई मर्न दिने तर उनको छोरा मार्ने अपराधीलाई न्यायको कठघरामा नल्याउनेतर्फ पे्ररित गर्ने यस्तै आधार हुनसक्छन्। क्याप्टेन डुड्लेले पनि पार्करलाई मार्न यस्तै आधार प्रस्तुत गरेका थिए।

माओवादी विद्रोहका ‘क्याप्टेन’हरूले युद्धमा भएको हिंसाको औचित्य साबित गर्न बारंबार गर्ने तर्क डुड्लेले पार्कर मार्ने अपराधको बचाउमा गरेको तर्कजस्तै छन्। ‘दुई करोड नेपालीको भविष्यका लागि १७ हजार मारिनु अन्यथा होइन ‘ विभिन्न समयमा तिनले दिएका तर्कको सार यही हो। यो तर्क आफू बाँचेर शासन सत्तामा रमाएकाहरूका लागि जति स्वाभाविक छ आफन्त गुमाएकाहरूका लागि भने त्यत्तिकै पीडादायी।

युद्धमा निहत्था नागरिक, असंलग्न व्यक्ति, बालबालिका मारिएको बचाउका लागि ‘गहुँ पिस्दा घुन पिसिएको’ भन्ने जबाफ आउँछ। घुन बनाइएका सन्तानका बावु आमाको पीडा पिस्नेहरूलाई के थाहा? स्वर्गीय नन्दप्रसाद अधिकारी घुन बनाइएका सन्तानका पिता हुन्। अधिकारीको न्यायको याचनालाई व्यंग्य गर्ने उक्साहट ठान्ने, उनको मृत्युलाई स्वाभाविक ठान्नेहरू क्याप्टेन डुड्लेका नयाँ अवतारमात्र हुन्। आफ्ना छोराछोरीलाई विदेशमा पढाएर हजारौँ नन्दप्रसादका छोराछोरीलाई बलिवेदीमा होम्ने र घुन बनाउने माओवादी काइदा, आफुले चिट्ठा थुत्ने खतरा उठाउनसम्म तयार नहुने डुड्लेको चलाखीभन्दा कुन अर्थमा फरक छ र?

प्राण हरण गरे पछि मार्नेले चाहेर पनि फिर्ता गर्न सक्दैन। यससँगै मारिनेबाट समाजमा हुन सक्ने योगदान पनि सृष्टिबाट हरिन्छ। एक पटक कुनै कट्टर धार्मिक राज्यमा धार्मिक कानुनद्वारा बर्जित नारा लेखिएको रहेछ। एक जना युवकमाथि यसको आरोप लाग्यो। युबकले यो आरोपविरुद्ध सफाइ पेस गर्न सकेनन्। उनलाई कानुनअनुसार मृत्युदण्ड दिने निर्णय अदालतले सुनायो। मृत्युदण्डको मिति समेत तय भयो। तर उनलाई मृत्युदण्ड दिन तय भएको दिन पवित्र धार्मिक तिथि परेछ। अब यस्तो पवित्र तिथिमा मृत्यु भएमा अपराधी स्वर्ग जान्छ भन्दै मृत्युदण्डको मिति परिवर्तन भयो। सौभाग्यवश, परिवर्तन गरिएको मिति आउनु अगावै एउटा नयाँ तथ्य खुल्यो। तथ्यअनुसार नारा लेखिएको भाषामा त ती युवकले लेख्नै नसक्ने रहेछन्। फलस्वरुप मृत्युदण्डको सजाय फिर्ता भयो। कथाअनुसार ती युवक उमेर पुगेपछि त्यहीे राज्यको सफल राज्यपाल भएर समाज र धर्मको सेवा गरे। पहिले तय भएको मितिमै युवकलाई मृत्युदण्ड दिइएको भए नयाँ तथ्य थाहा भए पनि उनको जीवन फिर्ता हुने थिएन। राज्यले एक असल र धार्मिक नेतृत्व गुमाउने थियो।

विचार गरौं, युद्धमा मारिएकाहरूमध्ये कतिपय प्रचण्ड र बाबुरामभन्दा सामर्थ्यवान् नेता हुनसक्थे। लक्ष्मीप्रसाद देवकोटाभन्दा महान् कवि हुनेवाला पो हुने थिए कि? ‘जनयुद्ध’ सफल पार्ने हतारमा जनसाधारणको ‘सफाया’ गर्दा कति जना भविष्यका बुद्ध र बीपी कोइराला मारिए होलान्? त्यसैले हत्याको औचित्य नन्दप्रसादलेमात्र खोज्ने छैनन्। उनले त न्यायमै चित्त बुझाउने थिए। बास्तवमा समाजले भविष्य गुमाएको छ। त्यसैले एक दिन प्रत्येक मृत्युको औचित्य खोजिनेछ।

अकालमा ज्यान गुमाएका १७ हजार नेपालीको मृत्युको औचित्य नखोजियोस् भनेर माओवादीलगायत राज्यको राजनीतिक क्षेत्रले जनसाधारणलाई धम्की दिन थालेको छ। शान्ति प्रक्रिया खलबलिन्छ भन्दै अन्याय सहन भनिएको छ। नन्दप्रसादको मृत्युलाई समेत जायज भन्न थालिएको छ। लोकतन्त्रमा व्यक्ति सबैभन्दा माथि हुन्छ। अधिकारी दम्पतीको न्यायको अधिकार अनि उनीहरूको बाँच्ने अधिकार बाँकी नेपालीको शान्ती प्रक्रियाको सफलताको चाहनाभन्दा कुनै पनि अर्थमा कम महत्वको हुँदैन।

हुनत, अहिले माओवादी आफैँ आफूले मच्चाएको हिंसा र विध्वंशको औचित्य नभेटेर हैरान देखिएको छ। झन् युद्धका नाममा गरिएका व्यक्ति हत्याको औचित्य कसरी सावित होस्? अतः यो पार्टीको नेतृत्व शान्ति प्रक्रिया बिथोलिने धम्की दिएकै भरमा विगतका सबै ज्यादतीलाई ढाकछोप गर्न चाहन्छ। पीडितको क्रन्दन कसैलाई सुन्न दिन चाहँदैन। तर नन्दप्रसादलाई शवगृहमा पठाएर न माओवादी हिंसा र मृत्युको औचित्य प्रमाणित गर्ने दायित्वबाट भाग्नसक्छ न न्याय दिने दायित्वबाट सरकार नै उम्कन सक्छ।

‘मेरो छोरा मार्नेलाई कानुनअनुसार कारबाही होस्’ अधिकारी दम्पतीको माग यत्ति हो। उनका छोरा मारिने बेलामा भरखर स्कुले शिक्षा पुरा गरेका किशोर थिए। हाम्रो देशका दुईजना पूर्व प्रधानमन्त्री क्रमशः पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले यी बालकलाई मार्ने आदेश आफूहरूले दिएको भनेर सार्वजनिकरूपमा सकारेका छन्। एक जना अबोध निःशस्त्र बच्चाको हत्या गर्ने आदेश दिएको सगर्व स्वीकार गर्नेहरूको छायामा लुटपुटिइरहेको यो सरकार भने अपराधीको खोजी भइरहेको छ भनेर दुनियाँलाई झुट पस्किरहेको छ।

प्रचण्ड र बाबुराम मुखमा जे आयो त्यही बोल्ने हैसियतका सामान्य मानिस होइनन्। उनीहरूले भनेको पनि नपत्याउने हो भने कसले भनेको पत्याउने? राज्य वा राज्यको फौजदारी न्याय संयन्त्र खासमा सत्य खोजेजस्तो स्वाँग पार्छ तर सत्यदेखि डराएर भाग्दैछ। अनी हामी बबुरा चाहिँ कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो होला भनेर चितवनतिर सोधखोज गर्छौं। हाम्रो बुद्धुपन देखेर पेरिस डाँडाका विद्वान्हरूलाई कति रमाउँदा होलान्?

साँचो कुरा त के हो भने नेपाल राज्यको सम्पूर्ण संयन्त्र अपराधीसँग डराउँछ। अदालतबाट हत्याको कसुर प्रमाणित भएको अपराधीलाई राज्यले देखे पनि नदेखे झैँ गर्छ। तर विभिन्न तारतम्य मिलाएर भागेको सानोतिनो अभियुक्त खोजिदिनु पर्यो भन्दै इन्टरपोलमा सूचना जारी गर्छ। नेपालमा न्यायको मुख नखुल्ने गरी थुनिएको यथार्थ बुझेकाहरूका लागि नेपालले इन्टरपोलमा पठाएको सन्देशको के अर्थ? अब बहानावाजी होइन न्यायको संकल्प चाहियो। शान्ति प्रक्रियाको भविष्यका नाममा न्याय दिने दायित्वबाट राज्य भाग्न सम्भव छैन। स्वर्गीय अधिकारीकी पत्नी गंगामाया पनि पतिको नियतिको नजिक पुगेकी छिन्। सरकार लोकतन्त्रका न्यूनतम मूल्य मान्यतामा विश्वास गर्छ भने शान्ति प्रक्रियालाई दाउमै राखेर किन नहोस् गंगा मायालाई न्याय दिनुपर्छ र उनलाई बचाउनुपर्छ। अंग्रेजी जहाजको नरभक्षी क्याप्टेन डुड्लेको थोरै मारेर धेरैलाई खुसी पार्ने तर्क अठारौं शताब्दीमा अस्वीकृत भएको हो। जतिसुकैलाई खुसी पारोस् कथित शान्ति प्रक्रियाले गंगामायाको मृत्युको भार थेग्न सक्नेछैन।

न्याय माओवादीसँग मागिएको होइन। अतः अधिकारी प्रकरणको कलंक माओवादीलाई लाग्दैन। पौराणिक कथाअनुसार श्रवण कुमारलाई अनजानमा मारेको भए पनि उनका दृृष्टिहीन मातापिताको श्राप राजा दशरथलाई लागेको थियो। कृष्णप्रसाद अधिकारीलाई त जानाजान मारिएको हो। अधिकारी दम्पतीको श्रापबाट हाम्रो नेतृत्व कसरी मुक्त होला र? आइरिस अनशनकारीको मागको बेवास्ता गरी मृत्यु हुनदिएर ‘आइरन लेडी’ कहलाइएकी बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको मृत्युमा उत्तरी आयरल्यान्डको लन्डन डेरीमा खुसी मनाइएको थियो। बेल्फास्टको माथि अन्ट्रिमको डाँडोमा विशाल अक्षरमा थ्याचर दोषी हुन् स्वर्ग नजाउन् भनेर लेखिएको थियो। थ्याचर राज्यको विखण्डन चाहनेविरुद्ध कठोर भएकी थिइन्। हाम्रो सरकार राज्यको अखण्डताको रक्षा गर्न कठोर भएको होइन एक जना बालकका हत्याराको रक्षार्थ कठोर भएको हो। हे भगवान! हाम्रा नेताको नर्कको बास होस् भनेर ठूलो अक्षरमा लेखेको पढ्न नपरोस्।

(0)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *