Home Opinion धर्म र राष्ट्रिय एकता

धर्म र राष्ट्रिय एकता

2
0

धर्म- संस्कृति हो। धर्म- परम्परा हो। धर्म- आफैमा एउटा सभ्यता हो। संस्कृति भनेको सम्बन्धित समाजको अस्तित्व हो। परम्परा उक्त समाजको जीवनशैली हो। त्यस्तै, सभ्यता एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएको ज्ञान हो जसले सम्वन्धित समाजको जीवन जगत सम्वन्धि बुझाइलाई प्रतिनिधित्व गर्दछ। यस अर्थमा धर्म केवल आडम्वर होइन। इश्वरलाई मान्नु या नमान्नु, पुजा पाठ गर्नु या नगर्नु, भजन किर्तन गर्नु या नगर्नु यी सब तपशीलका कुराहरु हुन्। धर्म यी सबै कुराहरु भन्दा माथिको कुरा हो।

त्यसो त धर्म विवाद गरिनु पर्ने विषय होइन तर केहि समुहले आफ्नो राजनीतिक अभिष्ट पूर्तिका लागि धर्मलाई बिथोलेपछि कुहिएको सहिष्णुताबाट हिजो आज दुर्गन्ध फैलिएको भने प्रष्ट देखिन्छ। गाइ काट्ने/नकाट्ने विषयमा भएको झडप एवं गायिका अन्जु पन्तको दशैं बारे गीत नगाउने धारणा लगायतका विषयले नेपाली सामाजिक/व्यवसायिक मिडिया जगतलाई तताए पछि मिश्रित प्रतिक्रियाहरु वैरिने क्रम जारि छ। दुर्भाग्य के हो भने आफ्नो दुनो सोजाउने बाहेक समाजलाई मिलाएर मैत्रीपुर्ण वातावरणको सिर्जना गर्नका खातिर सम्वन्धित कसै बाट पनि कुनै ठोस कुरा आएको देखिंदैन।

गायिका अन्जु पन्त प्रकरण मिडिया तताउन सफल एउटा उदाहरण मात्रै हो। यहि एउटा उदाहरणले पनि आजको हाम्रो समाज कुन दिशातर्फ़ उन्मुख छ भन्ने कुराको स्पष्ट दृश्य दिन्छ। यही घटनाबाट सिकेर बहसको थालनी गरी भोलिको सामाजिक रुपरेखा कोरिनु पर्ने ठाउँमा हामीले या त गायिका पन्तको अज्ञानता माथि सहानुभूति प्रकट गरेका छौं या त उनि माथि आक्रोश पोखेका छौं। दुर्भाग्य के हो भने, हाम्रा यी गतिबिधि हरुले सामाजिक जटिलता सिर्जना गर्नु सिवाय अरु केहि गर्दैनन्।

८० प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्वी हरुको बसोबास भएको र धर्मका नाममा कुनै पनि साम्प्रदायिक दुर्घटनाहरु नघटेको परिप्रेक्षमा मुलुकलाई संवैधानिक हिन्दु राज्य बाट विना वहस, धार्मिक निरपेक्ष राष्ट्र घोषणा गरिनु पहिलो गल्ति थियो। तत्काल देखिने गरी कुनै किसिमको प्रतिक्रिया नजनाए पनि यस कुराले बहुसंख्यक हिन्दु समुदायको भावनामा ठुलै चोट परेको कुरा बिस्तारै बाहिर आउने क्रम जारि छ। त्यसै माथि आर्थिक विपन्नताको फाइदा उठाई विभिन्न प्रलोभन देखाउंदै धर्म प्रचार गर्न छुट दिनु किमार्थ राज्यको हितमा देखिंदैन। छुवाछुत, गरिवी आदि सामाजिक समस्याहरुलाई हिन्दु धर्म संग जोडेर प्रचार गरिनुले समुदायहरु बीच खाडल सिर्जना गरेका उदाहरणहरु हाम्रा वरिपरि प्रशस्त भेटिन्छन। ती खाडलहरू पुर्ने तर्फ़ बेलैमा नसोच्ने हो भने राष्ट्रिय एकता, बहु-साँस्कृतिक पहिचान, सहिस्णुता लगायतका हाम्रा अवयवहरु त्यसैमा नपुरीएलान भन्न सकिन्न।

म धर्मलाई संस्कृति, परम्परा र सभ्यता संग जोडेर हेर्ने गर्दछु तसर्थ ‘धर्म’ परिवर्तन गर्न सम्भव हुन्छ भन्ने कुरामा मलाइ विश्वास लाग्दैन। मलाई विस्वास लाग्दैन भन्दैमा अरुलाई पनि त्यस्तै लाग्नु पर्छ भन्ने सोच्न मलाई मेरो धर्मले सिकाएको छैन। यस अर्थमा धर्म परिवर्तनलाई म व्यक्तिगत स्वतन्त्रताको रुपमा बुझ्दछु। तर, धर्म परिवर्तन गरिसके पस्चात सम्बन्धित समाजका मूल्य मान्यता हरुलाई गल्हत्याउन खोज्नु आफैमा मुर्खता हो। गाईको मासु खान मन हुनेले खान पाउनु स्वतन्त्रताको विषय हो भने जुन समाजमा गाईलाई आमा समान पुजा गरिन्छ, त्यो समाजमा गाई काट्ने काम गर्नु एक किसिमको अपराध गर्नु सरह हो।

यो धर्म सहि, यो धर्म गलत भनेर भन्ने अधिकार यो पंक्तिकारमा छैन र यस लेखको उदेस्य पनि त्यो होइन। तर धर्म प्रचारका नाममा जुन रुपले हिन्दु धर्मावलम्वीहरुको आस्था माथि चोट पुर्याउने किसिमका गतिबिधि हरु गरिएको पाइन्छ, त्यस खाले गतिविधिहरु चाहे हिन्दु चाहे इसाई कुनै पनि सम्प्रदायको हितमा छैनन्। अझ विविधतामा एकता बोकेको नेपालि संस्कृति बिथोल्न प्रयत्नरत समूहहरु यस किसिमका घिनलाग्दा गतिविधिका अगुवा हुनु र समाज उनीहरुकै लहडका पछाडी लाग्नु ठुलो दुर्भाग्य हो।

जुन रुपमा धर्मका नाममा सामाजिक हस्तक्षप हुने गरेका खबरहरु बाहिर आउने क्रम बढ्दो छ, त्यहि अनुपातमा धर्मको बियों समाती त्रासदीको राजनीति गर्ने झुण्डहरु सक्रिय हुने डर पनि बढेको छ। कहालीलाग्दो कुरा के हो भने धर्मका नाममा हुने साम्प्रदायिक हिंशाहरु जति सजिलै मौलाउँछन् , त्यति नै मुस्किल ले नियन्त्रणमा आउने गर्दछन्। तसर्थ धार्मिक अतिवादीहरु मौलाउन सक्ने वातारणको सिर्जना हुन नदिन यसवारे सम्वन्धित सबैको ध्यानाकर्षण हुन जरुरी छ।

हामीले वेवास्ता गर्ने यी स-साना कुराहरु नै पछि गएर राष्ट्रिय एकता एवं सुरक्षा का लागि चुनौती बन्न सक्ने सम्भावनालाई नकार्नु हुँदैन। जसले जुन धर्म माने पनि, नेपालको राष्ट्रिय एकता, भाइचारा एवं बहु-सांस्कृतिक पहिचानको सम्रक्षण गर्नु हामि सबैको कर्तव्य हो।

(2)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *