Home Literature बेग्लै बयान देख्ने आँखाहरु।

बेग्लै बयान देख्ने आँखाहरु।

1
0
rajan Dai
राजन कार्की

“ईमरान खान र तहरीक-ए-ईन्साफ बाट पाकिस्तानिहरु ले धेरै आश राखेका छन्, बुझ्यौ राजन। जतिबेला राम्रा राष्ट्रिय नीति भएका पार्टीहरु र स्वच्छ आचरण भएका नेताहरु हामी कहाँ थिएनन् हामीले सेनाकै सत्ता रुचायौं। विकास कार्यमा सेनाले भ्रष्टाचार नगर्ने हुनाले गर्दा नै हामी निकै हदसम्म संतुष्ट भएका थियौं। नत्र केवल नराम्राहरु मध्ये चुन्ने अवसर पाउनु कुनै पनि राष्ट्र र जनाताका निम्ति दुर्भाग्य हो।”

उसले यति भनि नटुंग्याउँदै मैले आफ्नो देश सम्झें। दुर्भाग्यहरुको कस्तो अनुपम् मेल!

कुकुरलाई छेऊ, टुप्पो र उँधो बाहेक जम्मै ढाकिने गरि लुगा लगाइदिएको देख्ने बित्तिकै उसले भनिहाल्यो,

उफ्फ! चिथडे भि मयस्सर् नहीं ईन्सान को कहीं

बुर्कापोश है कुत्ते मौला तेरी ही वागीचे में कहीं

(मान्छेलाई झुत्रो छैन कतै, प्रभु! तेरै फुलबारीमा डुल्छ लबेदा बेरेर कुक्कुर)

त्यसपछि फ्वाँक्क पान पराग मुखमा हाल्यो र मतिर हेरेर, उ ऊता काम थुप्रिइसक्यो जाऊँ भनेर तान्यो।

जाफर रजा सहरियार र म संगै काम गर्छौं। काममा जाफर पक्का छ। काम सक्छ अनि आराम गर्छ। ऊ आफू  ख्यालठट्टा कम गर्छ तर छँदाखाँदाको गीतमा अर्कै शब्दहरु भरेर हाँसउठ्दो र कहिलेकाहीं अश्लील बनाउँछ। लय चैं बिगार्दैन। मैले एकपल्ट नुसरत फतेह अलिको  गाना सुनाएर सोधें “यो कसको हो?”

उसले ठम्याउन सकेन, मैले बजाएरै सुनाइदिनुपर्यो उसका पत्यारका  लागि। मैले नुसरतको सबै जसो गीत सुनेको छु भनेर हिजोसम्म धक्कु लाउँदै आएको जाफरलाई मैले नै खुलस्त पारिदिनुपर्यो  त्यो गाना र गीतको श्रोतको बारेमा। त्यो Bandit Queen  भन्ने हिंदी चलचित्रको थियो, जसमा संगीत नुसरतको नै छ।

ऊ आफू  गीतार बजाउँछ तर गीत भने गाउँदैन, गुनगुनाउँछ। अचम्मको छ, गाएको बेला बजाउँदैन। बजाएको बेला गाउदैंन।

कराँची, पाकिस्तानमा उसको परिवार छ। बुवा र भाई प्रहरीमा छन्। एकदिन एक्कासी झोंक्किएर भन्यो, “साले मेरो भाई घुस्याहा छ, माया लाग्छ तर मन पर्दैन। जब ईमरान खानको पार्टी तहरीक-ए-ईन्साफ सत्तामा आउँछ यिनिहरुलाई पाता फर्काएर कुट्नु पर्छ।”

यति भनि सकेर चुरोटको लामो सर्को तान्यो र ठुटो मिल्काइदियो। लगत्तै मुखमा पान परागको फाँको हाल्यो।

मैले सोधें, “जाफर भाई एकथोक, दुईथोक खाऊ न के यो सुर्ति पनि?”

“पाकिस्तानमा म अफिम पनि खान्थें कहिलेकाहीं, तर जब मेरी हजुरआमाको ईंतकाल भयो म मस्त रहेछु नशामा, केहि थाहपत्तो भएन मलाई। काँधमा बोकी गाडेर आएको बेलादेखि मैले त्यो चिज छोएको छैन।”

ऊ आफू  पनि तहरीक-ए-ईन्साफको सदस्य हो।

“ईमरान खान र तहरीक-ए-ईन्साफ बाट पाकिस्तानिहरु ले धेरै आश राखेका छन्, बुझ्यौ राजन। जतिबेला राम्रा राष्ट्रिय नीति भएका पार्टीहरु र स्वच्छ आचरण भएका नेताहरु हामी कहाँ थिएनन् हामीले सेनाकै सत्ता रुचायौं। विकास कार्यमा सेनाले भ्रष्टाचार नगर्ने हुनाले गर्दा नै हामी निकै हदसम्म संतुष्ट भएका थियौं। नत्र केवल नराम्राहरु मध्ये चुन्ने अवसर पाउनु कुनै पनि राष्ट्र र जनाताका निम्ति दुर्भाग्य हो।”

उसले यति भनि नटुंग्याउँदै मैले आफ्नो देश सम्झें। दुर्भाग्यहरुको कस्तो अनुपम् मेल!

उसका आँखा सधैं उत्सुक हुन्छन्। मलाई लाग्दछ अरुले देख्ननसकेका, देखिहाले भनेपनि ठम्याउन नसकेका कुरा जाफरले देख्न, ठम्याउन सक्छ।

अस्ती भर्खर हामीले काम गर्ने ठाऊँकी केटी देखाउँदै भन्यो, “यो मैयाँ मलाई च्वाँक लाग्छे। दिनहुँ फरक कपडा लागएर आउँछे तर लाली र गाजल कहिले फरक पार्दिन। यसका boyfriend गोडा दुई चार छन् र यो सधैं काम सकेर त्यो कम् उज्यालो भएको छिडिंको मुन्तिर अनेकथोक खान्छे।”

“तैपनि तिमीलाई मनपर्छ?” मैले जान्न खोजें

“त्यो राम्री देखुन्जेल मलाई मनपर्नेछे। त्यसलाई राम्रा देखिने केटा चहिएको छ, नभए दुर्व्यसनी; मलाई राम्री केटी मनपर्छ। बाँकी दोश्रो कुराको के मतलब।”

मैले पहिलो कुरोको मतलब सोधिन।

ऊ काममा आक्कलझुक्कल मात्र ढिला आउँछ। ढिलो भएको बेला उसको र मेरो भेंट बसमा हुनेगर्छ।

एकदिन यस्तै भयो। ऊ अगाडिको सिटमा फैलिएर बसेको थियो म पछिल्तिरकोमा। केहिबेरपछि एउटा कुनै बिसौनिबाट एउटी  केटी चढि। ब्यस्त समय भएकाले भिंडमा अनुहार देखिएको थिएन तर सुन्दर र आधा भन्दा बढि खुलेको ढाड हामीतिर फर्केको थियो।

उसका आँखापनि त्यतैतिर घोरिएको देखेर मैले सोधें, “जाफरभाई गोरो छालामा कालो पहिरन कस्तो खुलेको छ हगी? कस्तो चिल्लो ढाड हैन र? कस्तो लाग्यो?”

ऊ जवाफ फर्काउन सदा झैं स्फुर्त रह्यो, “रन्धा* लगाएको काठ जस्तै चिल्लो छ”

मैले मनमनै सोचें कस्तो उल्लु रहेछ जिवित सौन्दर्यसंग निर्जिव काठको  तुलना गर्छ, र भनें “मान्छे पो हो त, ढुङ्गामुढा हो र? के रसै नभएको कुरा गरेको जाफर?।”

उसले अगाडिको सीटबाट पछाडि म भएतिर मुख फर्कायो र मेरो आँखामा सोझै आँखा गाडेर भन्न थाल्यो,  “मेरी हजुरआमालाई मेरा हजुरबाले गोडा दुई एक सौता हालेपछि झनै धर्मपरायण भइन्। म सानो छँदा मलाई कुरान् पढ्न सिकाउने उनै हुन्। कुरानका कतिपय आयत्** मलाई अझै कण्ठाग्र नभएपनि त्यो कुरान राख्ने रेहाल***  यति चिल्लो, चम्किलो र ओज्श्वी थियो, मलाई यो ढाड देखेर अहिले त्यो कुरानको भार थाम्ने त्यै रेहालको संस्मरण भैरहेको छ।”

मैले भनें नि,

उसका आँखा सधैं उत्सुक हुन्छन्। मलाई लाग्दछ अरुले देख्ननसकेका, देखिहाले भनेपनि ठम्याउन नसकेका कुरा जाफरले देख्न, ठम्याउन सक्छ।

सहि हो।

रन्धा*= काठलाई चिल्लो पर्ने फलामको पत्ती भएको औजार

आयत् **= कुरानका श्लोक

रेहाल***= कुरान राख्ने काठ वा हस्तिहाड वा संगमरमरले बनेको तपको।

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *