Home Literature म (लघु कथा)

म (लघु कथा)

5
0
सुज्यता गुरुङ
सुज्यता गुरुङ

महिनावारी चलिरहेको कारण त्यतिकै खाटमा पल्टी रहेकी थिएँ । आकश्मात बच्चाहरुको आवाज मेरो कानमा पर्यो। म तिर्खाएको मान्छेले पानीको मुहान खोजेझैँ उत्सुक हुँदै झ्याल्तिर लम्किएं र त्यो मिठो आवाजको श्रोत खोज्न थालेँ। स्वतस्फूर्त भै मलाई उछिन्दै दौडिए मेरा आँखाहरु। गएर टाँसिए उनीहरुमै र नाच्न थाले जता-जता उफ्रिन्छन् उनीहरु।
उनीहरुलाई देख्ने बित्तिकै यो मनमा यती आनन्दको आभास भयो, म शब्दमा वर्णन गर्न सक्दिन! मलाई मरभुमिमा पानी भेटिएझैँ भयो! आहा!! कति मिठो त्यो वालापन। कति सुन्दर ति निर्दोष मुस्कानहरु। कति मिठो स्वर तिनीहरुको। केटाकेटीको स्वरमा साक्षात सरस्वति हुन्छिन् भन्छन्, हो रहेछ!

म परैबाट उनिहरुलाई हेरिरहेकी थिएँ, मुस्कुराउँदै। उनीहरु पनि आफ्नै धुनमा खेलिरहेका थिए, रमाउंदै। उनिहरुलाई हेर्दै म यतिसम्म रोमाञ्चित भएछु, मलाई नि कसैले “आमा” भनेर बोलाइदिए हुन्थ्यो जस्तै लाग्न थाल्यो। मैले बिर्सिदिएँ आफैलाई र डुब्न थालेँ सपनाको सन्सारमा। भेटेजतिका कपडाहरु बटुलेर डल्लो बनाएं। कुर्था भित्र हालेर पेट बनाएँ – गर्भवती महिलाको झैं। ऐनामा पेट निकै सुहायो।

सोचें – केही महिना पछि मेरी एउटी छोरी हुन्छे। साँच्चै मेरी छोरी कस्ती देखिन्छे होली !! म जस्तै होली कि नहोली ? उस्को पहिलो श्पर्शमा मलाई कस्तो अनुभूति होला ? उसले मलाई पहिलोपल्ट “आमा” भनेर बोलाउँदा म कति खुसि हुँला ? सपना न हो, गुलियो हुन्छ। त्यहि गुलियोमा आफुलाई नै बिर्सेर भुलेको पत्तै भएन। कसैले ढोका उघार्यो, घर्याक्क ….।

ऐनाबाटै देखें, ढोकामा थियिन जुजु डार्लिंग। सधैंझैं पानको बुजोले भरिएको थियो उनको मुख। पान पोखिएला झैं गरी थोरै मात्र ओठ चलाएर बोलिन उनी ,” ए के गर्दै बसेकी ,तेरो आज कती दिन रे ?

“किन दिदी ?” भनेर सोध्ने कुरै भएन। काँपेको स्वरमा भनें, “पाँच दिन”।

“ए! ल ठीक पर्दै गर्!! म तेरोमा कस्टमर पठाउछुँ, चार दिन भो तैलेँ सुतेर खाको!” म रन्थनिएं। उनको यो आवाजले बेस्सरी हिर्कायो- मानौं भर्खरै मेरो पेटमा कसैको बुट बजारिएको छ जहाँ एकछिन अगाडी मैले मेरी छोरीलाई सुमसुमाउँदै थिएँ।

Marie_Already_Knowing_She's_Pregnant

(5)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *