Home Crime नदीमा पुल नहुँदाको सास्ती – दिदी पुर्‍याउन गएका तीन भाइ खोलामा हराउँदा सिंगो गाउँ शोकमा।
नदीमा पुल नहुँदाको सास्ती – दिदी पुर्‍याउन गएका तीन भाइ खोलामा हराउँदा सिंगो गाउँ शोकमा।

नदीमा पुल नहुँदाको सास्ती – दिदी पुर्‍याउन गएका तीन भाइ खोलामा हराउँदा सिंगो गाउँ शोकमा।

130
0

डिबी विष्ट – उज्यालो – बझाङ
असार २७ – दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा तीन बालक सेती नदी घाट गंगामा परी हराएका छन् । माइत आएकी दिदीलाई पुर्याउन गएर फर्कंदा उनीहरुलाई नदीले बगाएको हो ।

काँडा गाउँपालिका वडा नम्बर २ का कक्षा १० मा पढ्ने १७ वर्षका धिरेन्द्र बोहरा, कक्षा ८ मा पढ्ने १५ वर्षका उज्वल बोहरा र कक्षा ८ मा नै पढ्ने १४ वर्षका लोकेन्द्र बोहरा हराएका हुन् । तीनै जना बालक काँडा गाउँपालिकामा रहेको धलौन माविमा पढ्थे ।

काँडा गाउँपालिका–२ धलौन बस्ने लोकेन्द्र बोहराकी दिदी सृजना बोहराले मंसिर महिनामा काँडा गाउँपालिका–३ बाँच्चौकाका गोपी बोहरासँग भागी विवाह गरिन् । केही समय सृजनाकी आमा मागी बोहरा र बुबा दलजीत बोहरा खुबै रिसाउनु भयो । छोरीले भागी विवाह गरी भनेर केही समय रिसाए पनि । छोरीले पराई घर जानै पर्ने, रिसाएर के हुन्छ ? भनेर गाउँलेले पनि सम्झाए । अनि बुबा आमाले पनि चित्त बुझाए ।

मंसिर महिनाको कुरा हो । बुबा आमाले चित्त बुझाएको खबर छोरी सृजनाको कानमा पर्यो सृजना माइती मान्न वैशाख महिनामा माइती घर पुगिन् । पोइली पक्षका केही मान्छेसमेत लिएर सबै माइतीलाई मानिन् । र माइती पक्षका सबैले पनि सृजनालाई टिका टालो लगाई दिए । रमाइलो गरे । वैशाखमा माइती मान्न आएकी सृजनालाई पोइली घरसम्म पुर्याउने गाउँमा मान्छे कम भए । वैशाख महिना यार्सा संकलन गर्ने सिजन भएकाले धेरै जस्तो गाउँले यार्सा संकलन गर्न लेकतर्फ हिँडिसकेका थिए । सृजना र उहाँको माइती परिवार र गाउँले सबै लेक तिर नै यार्सा संकलन गर्न गए।

अनि असार महिनाको अन्तिमतिर मात्र यार्सा संकलन गरेर घर फर्कने गरेका यहाँका सबै स्थानीय बासिन्दा असार महिनाको पहिलो हप्ता नै गाउँ फर्र्किए, यार्सा संकलन गर्न छोडेर । किनभने स्थानीय तहको चुनावको माहोल थियो । स्थानीय तहको चुनावका कारण सृजनालाई घर पुर्याउने मान्छे भएन । फेरि सृजनाले पनि मतदान गर्न माईती घरमा नै पुग्नु पर्ने भएका कारणले माइती घरमा नै बस्नु पर्ने बाध्यता थियो । चुनाव पनि सम्पन्न भयो ।

अब सृजनालाई पनि माइती घरबाट बिदाइ गरी पोइली घरसम्म पुर्याउने सृजनाका आमाबुबाले निर्णय गरे । गाउँका दाजु भाइलाई खबर गरे । असार महिनाको २१ गते बुधबार सृजनालाई पोइली घरसम्म पुर्याउन को को जाने भन्ने गाउँमा सल्लाह नै भयो । तीन भाइले हामी जाने भन्दै आए । सबैले हुन्छ भने र सृजनालाई पुर्याउन उनीहरु लगाएर मात्र भएन गाउँका जान्ने बुझ्ने दुई तीन जना पनि जानु पर्छ भन्ने कुरा भए पछि साथमा शिबलाल बोहरा, हिरु बोहरा, सुधन बोहरा र फुगी बोहरा पनि जानु भयो । उनीहरु सृजनालाई पोइली घरमा पुर्याएर २२ गते नै फिर्ता भए । तीन जना बालक भने दुई दिन दिदीकै घरमा बसे र २४ गते मात्र दिदी सृजनाको घरबाट बिदाइ भएर आफ्नो घर तर्फ लागे ।

बर्खाको समय लगातार परिरहेको पानी खोला नाला सबै बढेका थिए । फेरि बझाङ जिल्लाकै सबैभन्दा दुर्गम मानिने काँडा गाउँपालिकामा धेरै खोला छन् । यहाँका बासिन्दाले आफैले निर्माण गरेका काठे पुुलको मात्र भर छन् ।

झण्डै ५ महिना अघि निर्माण गरिएको घाटगंगाको काठे पुल कमजोर भइसकेको थियो । पानीको सतह निकै बढी भएका कारण वारिपारि तर्फ वालहरु कमजोर भएका थिए । हुनत काँकरकोट भन्दा तल एउटा झोलुङ्गे पुल निर्माण गरिएको छ । त्यहाँबाट आवत जावत गर्न निकै लामो पर्ने भएका कारणले काठे पुल नै उत्तम ठहरी यहाँका सबै स्थानीय बासिन्दा काठे पुलका माध्यमबाट नै आवत जावत गर्थे ।

यही बाटो भएर दिदी सृजनको घर बाट फर्केका तीनै जना बालक काठे पुलमा पुगे २१ गते असार । ‘तीनै जना बालक काठेपुलको बिचमा पुुग्ने वित्तिकै काठेपुल राख्नका लागि निर्माण गरिएको वारी पट्टीको पर्खाल भत्कियो नजिकैको जंगलमा घाँस काटिरहेकी काँडा गाउँपालिका–३ का तीन चार जना महिलाले देख्नु भयो । तीनै जना बालक घाँट गंगामा बेपत्ता भए’ काँडा–२ का स्थानीय बासिन्दा बसन्त बोहराले जानकारी दिनुभयो।

एकै गाउँका संगैका दौतरी एकै दिन बेपत्ता हुँदा काँडा गाँउपालिका–२ धलौन अहिले शोकमा छ । स्थानीय बासिन्दा घाँट गंगाको किनारमा खोजी गरिरहेका छन् । बेपत्ता भएको चार दिन भइसक्दा समेत अत्तो पत्तो छैन । झोलुङ्गे पुल नभएका कारण १० जना भन्दा बढीले अकालमा ज्यान गुमाएको स्थानीय बासिन्दाले बताएका छन् ।

(130)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *