Home Australia ढोरपाटनका खेम पुर्जाले जिते बेस्ट प्लेयर अवार्ड।
ढोरपाटनका खेम पुर्जाले जिते बेस्ट प्लेयर अवार्ड।

ढोरपाटनका खेम पुर्जाले जिते बेस्ट प्लेयर अवार्ड।

182
0

नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडी र भलिबल क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु लाई सम्मान गर्दै सिड्नीमा पहिलो पटक नेपाली भलिबल अवार्ड समारोह सम्पन्न भएको छ। पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा उक्त अवार्ड समारोह सम्पन्न भयो।

समारोहमा विविध आठ शिर्षकमा खेलाडीहरुलाई अवार्ड प्रदान गरियो। “बेस्ट प्लेयर”, “बेस्ट सर्भर”, “बेस्ट लिफ़्टर”, “बेस्ट क्विकर”, “बेस्ट स्पाइकर”, “बेस्ट ब्लकर”, “रुकी अफ द ईयर” र “फरेभर योङ्ग प्लेयर” गरी आठ खेलाडीलाई पहिलो पोखरा भलिबल क्लब अवार्ड २०१७ प्रदान गरिएको हो।

पहिलो पोखरा भलिबल क्लब अवार्ड २०१७ बाट बेस्ट प्लेयर ढोरपाटन भलिबल क्लबका खेम पुर्जा , बेस्ट सर्भर गल्कोट समाज अष्ट्रेलियाका दिपक अधिकारी, बेस्ट लिफ़्टर गल्कोट समाजकै लोकेन्द्र छन्त्याल, बेस्ट क्विकर जलजला परिवारका खेम के. सी, बेस्ट स्पाइकर म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन (मोना)का सुमन बानिया, बेस्ट ब्लकर नया युनाइटेडका द्वारिका दवाडी, रुकी अफ द ईयर अवार्ड गल्कोट समाज अष्ट्रेलियाका नबिन अधिकारी र फरेभर योङ्ग प्लेयर जलजला परिवारका इन्द्र भण्डारी समानित भए।

सिड्नीको नेपाली समुदायमा निकै लोकप्रिय खेल मध्येको एक भलिबल खेल सन् २००२ देखि नै खेलिंदै आएको भए पनि भलिबल विधामै अवार्ड प्रदान गरिएको यो पहिलो पटक हो। सोहि समारोहमा सुरुवाती दिन देखि भलिबल खेलको विकास र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरुमा बाग्लुंग अष्ट्रेलियन कम्युनिटीका संस्थापक एवं हिमालयन रेडियोका प्रमुख कार्यक्रम निर्माता टिका कार्की, भलिबल खेलाडी तथा रेफ्री राज कुमार अधिकारी एवं भलिबल खेलाडी धिरज मल्ल हुनुहुन्छ।

सन् २००२ देखि नै नेपाली समुदायका विभिन्न समूहबीच प्रतिस्पर्धात्मक रुपमा भलिबल खेलको संयोजन गर्दै आएका टिका कार्कीलाई अष्ट्रेलियाको नेपाली समुदायमा भलिबल खेल भित्र्याउने जस जान्छ। तत्कालिन समयमा थकाली समाज, मगर समाज, बाग्लुंग अष्ट्रेलियन कम्युनिटी लगायतका संघ-संस्था संगको सहकार्यमा कार्कीले भलिबल खेललाई नेपाली समुदायमा नियमित खेलिने खेलका रुपमा विकसित गराउन अहम भूमिका निर्वाह गर्नुभएको थियो। अवार्ड समारोहमा बोल्दै कार्कीले अष्ट्रेलियाको नेपाली समुदायमा भलिबल खेलले व्यवसायिक फड्को मारेकोमा गर्व गर्दै सिमित क्षेत्रका समूहहरुमा निर्भर रहनु परेको वाध्यता भने चुनौती रहेको औंल्याउनु भयो। वहाँले भलिबल क्लब तथा खेल आयोजकहरुलाई पूर्व देखि सुदुरपस्चिम सम्मका खेलाडीहरुलाई आकर्षित गर्दै भलिबलको परिधीलाई फैलाउन सुझाव दिनुभयो।

पोखरा भलिबल अवार्ड २०१७ बाट सम्मानित अर्का व्यक्तित्व राज कुमार अधिकारी नेपालका पूर्व राष्ट्रिय खेलाडी र भलिबल रेफ्री हुनु हुन्छ। हाल अष्ट्रेलियाकै घरेलु लिगमा समेत रेफ्रीको भूमिका निर्वाह गर्दै आउनु भएका अधिकारी समग्र नेपाली भलिबल खेलाडीका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ। त्यसैगरी यहाँको नेपाली समुदायमा भलिबल भित्रिएदेखि हालसम्म खेलाडीका रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएका धिरज मल्ल पनि पोखरा भलिबल अवार्ड २०१७ बाट सम्मानित हुनु भयो।

कार्यक्रमका लागि वेलायतबाट रेडिङ्ग भलिबल क्लबका प्रेसिडेण्ट सन्तोष गुरुङ, पूर्व राष्ट्रिय खेलाडी ईश्वर घमाल, हेल्प नेपाल स्पोर्ट्स क्लबका प्रेसिडेण्ट अरुण श्रेष्ठ, न्यु डिअमनड क्लबका मुख्य प्रशिक्षक कुमार पुन, महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली, पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं हाल पस्चिमाञ्चल खेलकुदका भाइस प्रेसिडेन्ट कुमार गुरुङ लगायतले शुभकामना संदेश पठाउनु भएको थियो।

समारोहमा बोल्दै एनआरएनए अष्ट्रेलियाका खेलकुद संयोजक नन्द गुरुङले स्थापना भएको दुई वर्षमै भलिबल खेलको व्यवसायिकतामा पोखरा भलिबल क्लबले पुर्याएको योगदानको प्रशंशा गर्नुभयो। आफू अन्य खेलका धेरै अवार्ड समारोहमा सरिक भएको र केहि अवार्ड समारोह आफूले पनि आयोजना गरेको भएपनि पोखरा भलिबल क्लबले आयोजना गरे जसरी “निर्विवाद, सभ्य र भव्य” तरिकाले आयोजना भएको अनुभव नगरेको सुनाउनु भयो। वहाँले नेपाली समुदायमा भलिबल खेलको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै अष्ट्रेलियामा भलिबल एसोसिएसनको आवस्यकता रहेको समेत औंल्याउनु भयो।

अवार्ड समारोहको सह-आयोजक तथा पोखरा भलिबल क्लबको मुख्य प्रायोजक समेत रहेको ग्लोबल कन्सल्टका प्रवन्ध निर्देशक दिपक क्षेत्रीले भलिबल एउटा खेल मात्रै नभएर हाम्रो मौलिक संस्कृति कै रुपमा स्थापित भैसकेको बताउनु भयो। हालै नेपालको राष्ट्रिय खेल समेत घोषणा भैसकेको भलिबल खेलप्रति अष्ट्रेलियाको नेपाली समुदायका युवा पिंढीलाई समेत आकर्षित गर्न जरुरि रहेको बताउंदै वहाँले खेलाडीको सुरक्षा प्रत्याभुतिका लागि हरेक खेलाडीको विमा गर्ने वातावरणको सिर्जना हुनुपर्नेमा जोड दिनु भयो।

एनआरएनए अष्ट्रेलियाका सल्लाहकार मन केसीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको संचालन नेपाली टच अष्ट्रेलियाका दिपेश पुनले गर्नुभएको थियो। समारोह पछि नेपाल रिपोर्टस सँग कुरा गर्दै पोखरा भलिबल क्लब अष्ट्रेलियाका कप्तान तथा संयोजक अर्जुन गुरुङले नेपालको राष्ट्रिय खेल भलिबललाई अष्ट्रेलियाको नेपाली समुदायमा पनि लोकप्रिय बनाउन क्लबले अन्य क्लबहरु एवं संघ-संस्थासँग सहकार्य गर्दै अझ वृहत परियोजनाहरु ल्याउने तयारि गरिरहेको बताए। पोखरा भलिबल क्लबले हरेक वर्ष सर्वाधिक पुरस्कार रासीको भलिबल प्रतियोगिता समेत संचालन गर्दै आएको छ।

फोटो: अमित श्रेष्ठ।

(182)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *