Home Australia अष्ट्रेलियामा नेपाली लोक-दोहोरी गीत प्रवर्धनका महानायक विरेन्द्रदीप।
अष्ट्रेलियामा नेपाली लोक-दोहोरी गीत प्रवर्धनका महानायक विरेन्द्रदीप।

अष्ट्रेलियामा नेपाली लोक-दोहोरी गीत प्रवर्धनका महानायक विरेन्द्रदीप।

49
0

अष्ट्रेलियामा लोक तथा दोहोरी गीत सम्वन्धी केही कार्यक्रम हुन लागेमा धेरैको मनमा आउने एउटै नाम हो – “विरेन्द्रदीप”। त्यसो त लोकदोहोरी गायक-गायीकालाई अष्ट्रेलिया ल्याएर कार्यक्रम आयोजना गर्ने ऊनी एक्लो आयोजक भने होइनन्। तर विशुद्ध लोकदोहोरीकै कार्यक्रम र त्यसमा पनि नेपालको मौलिक लोकभाका र लोक परम्परा झल्किने गरी कार्यक्रम आयोजना गर्ने एकाध आयोजकमा विरेन्द्रदीप मल्ल पर्दछन्।

संस्थागत हिसावमा गुठी अष्ट्रेलियाले नेवारी परम्पराको प्रवर्धन गर्न त्यसखाले गतिविधी गर्दछ, त्यस्तै म्याग्दी समाज, मगर समाज र तामांग समाज लगायतले आ-आफ्ना संस्कृति प्रवर्धन गर्ने कार्यक्रम गर्छन भने व्यक्तिगत तवरमा त्यस खाले गतिविधी गर्ने ऊनी एक्ला आयोजक हुन्।

वि.सं २०३४ मा नेपालको मध्येपहाडी क्षेत्रको बाग्लुंग जिल्लामा अवस्थित गल्कोटमा जन्मिएका विरेन्द्रदीपमा लोक भाका प्रतिको मोह सानैदेखि बसेको हो। त्यसो त बाग्लुंग जिल्ला त्यस्तो क्षेत्र हो जहाँ सालैजो, पन्चे बाजा लगायतका नेपाली मौलिक लोक भाका तथा बाजाहरु त्यहाँका स्थानीय मानिसको आम जन-जीवन संगै जोडिएका छन्। बाग्लुंग जिल्लाका हरेक स्थानमा नवजात शिशुको जन्म देखि विवाह, व्रतवन्ध, लगायतका रीति-तिथी हुँदै दशैं-तिहार, तीज, चैते-दशैं, शंक्रान्ति जस्ता सांस्कृतिक चाड-बाडका अवसरमा नभई नहुने रौनक हुन् – पन्चे बाजा, लोक दोहोरी तथा खैंजडी-मुजुरा।

साँझ-विहान, दिन-रात लोकभाका तथा लोकबाजाहरु कतै न कतै घन्किरहेकै हुने बाग्लुंगमा जन्मिएपछि विरेन्द्रदीप त्यसको मोहबाट टाढा रहन सक्ने कुरै भएन। त्यसमाथि पनि आफ्नै काका तिलक बम मल्लले लोक लय मिश्रित पप गीतहरु गाएर लोक-पप गायकको रुपमा पुरै देशभर चर्चा कमाएपछि आफूमा लोकभाका प्रतिको सम्मान चुलिएको बताउँछन् उनी। तर १२ वर्षकै उमेरमा घरबाट उनलाई अध्यनका लागि देहरादुन पठाएपछि उनले काकाकै बाटोमा हिंड्न भने पाएनन्।

लोकभाका प्रतिको आफूमा रहेको धंगधंगी बाहिर निकाल्न उनलाई लामै समय लाग्यो। सन् २००७ सालमा स्नातकोत्तर अध्यनका लागि अष्ट्रेलिया आए पछि उनले लोकभाका प्रतिको मोहलाई नेपालको मौलिक लोकभाकालाई अष्ट्रेलियामा प्रवर्धन गर्ने कार्यमा खनाए। विस्तारै उनले स्थानीय भेटघाट एवं बार्बेक्यु कार्यक्रममा लोकदोहोरी गीतहरु बजाउंदै सबैलाई नचाउन थाले।

तीज धमाका २०१६ मा नाच्दै सिड्नीवासी महिला दिदी बहिनी।

यसै सिलसिलामा उनले आयोजकका रुपमा सन् २०१३ मा रक्डेल स्थित एभरेष्ट तन्दुरी फंक्सन सेन्टरमा दशैं भेटघाट तथा शुभकामना आदान-प्रदान गर्ने उद्देस्यले आयोजकका रुपमा पहिलो औपचारिक कार्यक्रमको आयोजना गरे। लोकदोहोरी गायीका मन्जु पौडेलका साथमा गायक दिल तामाङ्ग, राजेश केसी, सुजाता मानन्धर लगायतले प्रश्तुती दिएको उक्त कार्यक्रममा उपस्थित दर्शकलाई उनले मौलिक नेपाली लोकगीतमा नचाए। प्राय त्यसखाले कार्यक्रममा हिन्दी वा रिमिक्स गीतमा नाच्दै आएको समुदायले लोकगीतलाई अझ बढी मनोरन्जनात्मक पायो।

त्यस पछि साथी भाइको “डिमाण्ड”मा उनले त्यस किसिमका कार्यक्रमहरु एक पछि अर्को आयोजना गर्दै गए। सन् २०१५ मा आफू संस्थापक महा-सचिव रहेको संस्था गल्कोट समाज अष्ट्रेलियाबाट उनले भुकम्प प्रभावित क्षेत्रका सहयोगार्थ च्यारिटी डिनरको आयोजना गरे जसको प्रमुख आकर्षण लोक दोहोरी गायीका मन्जु पौडेल एवं नेपालका मौलिक आधुनिक पप गायक ईश्वर पोख्रेल रहेका थिए।

त्यसपछि उनले आफू आवद्द जय नेपाल फाउन्डेसनबाट “दोहोरी फर च्यारिटी” नामक कार्यक्रम गरे जसमा उनलाई बाग्लुङ्गकै युवाहरु विष्णु सापकोटा, हेन्सन विश्वकर्मा, सुदिप भण्डारी, विकाश शर्मा लगायतले सघाए।

लोकदोहोरीको विकास क्रमलाई सानै उमेरबाट पछ्याउन्दै आएका विरेन्द्रदीप मल्ललाई पछिल्लो समय लोकभाका र लोक संगीतका नाममा भित्रिएका विकृति एवं उच्छ्रींखल भिडियो निर्माण गर्ने ‘ट्रेन्ड’ले भित्रै देखि पिरोलेको थियो। म्युजिक कम्पनीहरुले श्रस्टा/गायक/सर्जकलाई न्याय नगरी आर्थिक लाभ मात्रै लिने परिपाटी विकसित भएको देखेपछि त्यसको अन्त्य गर्ने उद्देस्यले उनले २०१५ को नोभेम्बरमा वि.एम.एस फिल्मस् नामक संस्था नै दर्ता गरे। उक्त संस्थाले मौलिक नेपाली लोक-संगीतका भिडियोहरु निर्माण गर्ने गर्छ। उनको युट्युब च्यानलबाट भिडियो सार्वजनिक गर्ने गायक/सर्जकलाई उक्त भिडियोबाट आएको सम्पूर्ण आम्दानी रोयल्टी स्वरूप प्रदान गर्ने गर्दछन्।

 

वि.एम.एस फिल्मस् बाट पहिलो औपचारिक कार्यक्रमका रुपमा उनले पछिल्लो वर्षको तीजमा “तीज धमाका – २०१६” नामक कार्यक्रमको आयोजना गरे। हर्स्टभील स्थित मरना अडिटोरियममा आयोजित उक्त तीज कार्यक्रमले सिड्नीमा त्यस अघि आयोजना हुने सबै तीज कार्यक्रमको रेकर्ड तोड्यो। प्राय तीज कार्यक्रममा हिन्दी रिमिक्स गीतमा नाचेका भिडियोहरु बहिरिंदा निकै आलोचित बन्दै गएको परम्परालाई चिर्दै विरेन्द्रदीपले पशुपति शर्मा, मन्जु पौडेल र नरेश रेग्मी लगायत अन्य स्थानीय नेपाली कलाकारलाई ल्याए। उनको तीज कार्यक्रममा झन्डै-झन्डै एक हजारको हाराहारीमा महिला दिदी-बहिनीको उपस्थितीले त्यस साँझ मरना अडिटोरियमलाई राताम्य बनायो। उनको कार्यक्रमको सफलता पछि त्यसैलाई सिको गर्दै यस वर्ष लगभग सबै आयोजकले नेपालबाट लोक दोहोरी एवं तीज गीत गायक/गायीकालाई अष्ट्रेलिया बोलाएका छन्।

तीज धमाका २०१६ मा दर्शकलाई नचाउँदै लोक दोहोरी गायक पशुपति शर्मा।

यस वर्ष तीजमा झन्डै ५ भन्दा बढी आयोजकले तीज कार्यक्रम गर्दै छन् र प्रायमा कमसेकम एक जना नेपाली मौलिक लोकदोहोरी कलाकारलाई उतार्न लागिएको छ। त्यसो त देखासिकीमा भिन्दा भिन्दै कार्यक्रम गर्दा असर सबै आयोजकलाई पर्छ नै र यसको प्रतिकुल असर समग्र नेपाली समुदायमा पर्न जान्छ तर पनि सकारात्मक नजरमा हेर्दा तीजको परम्परालाई विकृत हुन बाट रोक्नका लागि महत्वपूर्ण यो कदमको श्रेय उनै विरेन्द्रदीप मल्ललाई जान्छ। कमसेकम अब तीजका नाममा कोहि आयोजकले हिन्दी रिमिक्स गीतमा आगन्तुकलाई नचाउने वाला छैनन् र यदि त्यसो भएमा पनि समुदाय सचेत भैसकेको छ।

त्यसै वर्ष दशैंमा पनि उनले वि.एम.एस फिल्मस् कै नामबाट दशैं-तिहार शुभकामना साँझ कार्यक्रमको आयोजना गरे जसमा पनि उनले नेपाल बाटै राम्जी खांड र प्रकाश रेग्मीलाई ल्याए। खांड र रेग्मी दुवै लोक दोहोरी गायक हुन्।

यस वर्ष पनि २९ जुलाईमा उनले वि.एम.एस फिल्मस् बाटै “तीज धमाका २०१७”को आयोजना गर्दै छन् जसमा नेपालका चर्चित तीज गीत गायीकाद्वय सिन्धु मल्ल र चन्दा अर्याल अष्ट्रेलियावासी नेपाली महिला दिदी-बहिनीलाई नचाउन आउंदै छन्। यस वर्ष उनको तीज धमाका सिड्नीमा मात्रै नभएर २३ जुलाईमा मेलबर्न, जुलाई ३० मा ओरेन्ज, अगष्ट ३ मा एडिलेड र अगष्ट ५ मा व्रिस्बेनमा पनि आयोजना हुँदै छ।

सिड्नीबाट झन्डै ४ घण्टाको ड्राइभ टाढा ओरेन्ज सहरमा बसेर पनि नेपाली हरुको बाहुल्य रहेको सिड्नीमा नेपाली मौलिक लोकगीत-संगीतको प्रवर्धनमा विरेन्द्रदीप मल्लले पुर्याएको योगदान निकै प्रशंसनीय छ।

(हामीले हरेक सप्ताहको अन्तमा प्रवासमा रहेर नेपालको मौलिक संस्कृति एवं परम्पराको प्रवर्धन तथा नेपाल र नेपालीको विकासमा टेवा पुर्याउंदै आएका संस्था, व्यक्ति वा समूहका बारेमा लेख्नेछौं। तपाईं वरपर पनि यस्तै केही प्रेरक कथाहरु भए हामीलाई सम्पर्क गर्नुहोला।)

(49)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *