Home Business बैंक ठगीमा थप ३ कर्मचारी पक्राउ

बैंक ठगीमा थप ३ कर्मचारी पक्राउ

24
0

अर्जुन गिरी-

२२ जेठ २०७३ मा पोखराकै १ सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए । उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका तत्कालीन ब्रान्च मेनेजर रविचन्द्र खनाललाई फोन गरे । खनालले ४६ को ठाउँमा ४७ नम्बरको चेक इन्ट्री गरेर पैसा दिन भने । न्युरोड शाखाका टेलरका कर्मचारीले त्यसै अनुसार गरे ।

अर्को दिन फेरि त्यही सहरकारीको ४७ नम्बरको चेक न्युरोड शाखामै साट्न पु¥याइयो । सहकारीलाई नसोधी बैंकका कर्मचारीले पुन खनाललाई नै सोधे । ४७ को ठाउँमा ५० नम्बर इन्ट्री गरेर रकम दिन भने । त्यसै अनुसार रकम भुक्तान भयो । यही केसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबारमात्र बैंकको न्युरोड शाखाका ३ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अपरेसन इन्चार्ज लक्ष्मी कँडेल, टेलर हेर्ने सुष्मा शर्मा र दीपिका कोइरालालाई सिआइबीले उच्च अदालत दाङ बुटवल इजलासबाट बैंकिङ कसुर मुद्दामा मंगलबार ७ दिनको म्याद थपेको अदालतका निमित्त रजिस्टार अर्जुनबहादुर रावतले बताए ।

सिआइबी प्रवक्ता एसपी मीरा चौधरीले बैंक ठगी प्रकरणमा एकपछि अर्को घटना खुल्दै आएको बताइन् । उनका अनुसार यो प्रकरण अनुसन्धान गर्न इन्स्पेक्टर टीका रेग्मी नेतृत्वको टोली पोखरामा नै खटिएको छ ।

घटना अनुसन्धानमा खटिएका सिआइबीका इन्स्पेक्टर रेग्मीले सहायक कर्मचारीको सहयोगमा मेनेजर खनालले ठगी गरेको प्रशस्त प्रमाण जुटेको बताए । रेग्मीले भने, ‘यिनीहरुको सहयोगबिना मेनजरले ठगी गर्न सक्ने अवस्था देखिँदैन, त्यसैका आधारमा पक्राउ गरिएको हो ।’ उनका अनुसार पक्राउ परेका सबै जनासँग बुधबार बयान सकिएको छ । बिनाचेक पटक पटक नम्बर फेरेर भुक्तानी दिने कर्मचारीको सरासर गल्ती भएको उनले बताए ।

अहिले पक्राउ परेका ३ र पहिला पक्राउ परेका ४ कर्मचारीविरुद्ध बैंकिङ कसुर ऐन २०६४ अनुसार मुद्दा चलाइने भएको छ । यसअघि नै लामाचौर शाखाका अपरेसन इन्चार्ज शिवराम अधिकारी, सहायक कर्मचारीहरु रिगु आचार्य, रविना थापा र सीमा पन्थ पक्राउ परेका छन् । उनीहरु प्रहरी हिरासतमै छन् ।

कैलाश विकास बैंकको लामाचौर शाखाका तत्कालीन मेनेजर रविचन्द्र खनालले यस्तै तरिकाले बैंक र सर्वसाधारणको करोडौं रकम कुम्ल्याउन सफल भएका थिए । चैत मसान्तको क्लोजिङ सकेर अफिसबाट फर्केका मेनेजर खनाल नयाँ वर्षको बिदा सकिएपछि पनि हाजिर भएनन् । बजारमा गाइँगुइँ चल्यो—उनी त करोडौं कुम्ल्याएर अमेरिका भागे । वैशाख ५ गते बैंकले जिल्ला प्रहरी र नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी हालेको थियो ।

खनालले आफूसँग भएको रकम मिटर ब्याजमा लगाउने गरेको उनका साथीहरु बताउँछन् । ‘उनले १ लाखको महिनामा ५ देखि ७ हजारसम्म ब्याज तिर्थे, त्यो पनि अग्रिम,’ स्रोतले भन्यो, ‘अरुबाट १ लाखको महिनामा १० देखि १२ हजार लिन्थे ।’ यसरी मोटो ब्याजको आशमा धेरैको रकम फसेको छ ।

ठगेर भागेका खनालको तनहुँस्थित पुख्यौली सम्पतिसहित, पोखरा पस्र्याङको घरजग्गा र गगनगौंडाको जमिन जस्ता जायजेथा बैंकले रोक्का गरिसकेको छ । पहिला अमेरिका पुगेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा थियो । पोखराबाट भागेको १५ दिनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गलत संगतले आफू फसेको भन्दै ठगिएकाहरुसँग माफी मागेका थिए ।

खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स गएको वर्षमात्रै कैलाशमा मर्ज भएको हो । सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो । एउटा शाखा हेरिसकेका व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो ।

 

 

 

(24)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *