Home Australia अष्ट्रेलियामा पहिलो पटक नेपाली भलिबल अवार्डको आयोजना हुँदै।
अष्ट्रेलियामा पहिलो पटक नेपाली भलिबल अवार्डको आयोजना हुँदै।

अष्ट्रेलियामा पहिलो पटक नेपाली भलिबल अवार्डको आयोजना हुँदै।

46
0

अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक नेपाली भलिबल अवार्डको आयोजना हुने भएको छ। पोखरा भलिबल क्लब सिड्नीको संयोजनमा “ग्लोबल कन्सल्ट पोखरा भलिबल अवार्ड २०१७” आयोजना हुन लागेको हो।

उक्त अवार्ड कार्यक्रम जुन २४ मा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा सम्पन्न हुनेछ। पोखरा भलिबल क्लबका कप्तान अर्जुन गुरुङले दिएको जानकारी अनुसार अष्ट्रेलियामा संचालित हुने नेपाली भलिबल प्रतियोगिताहरुमा सहभागी खेलाडीहरु बाट विभिन्न आठ विधामा सो अवार्ड प्रदान गरिनेछ।

भलिबलको लोकप्रियता अष्ट्रेलियावासी नेपाली समुदायमा पनि बढ्दो छ। विभिन्न स्थान र सबर्बमा नेपाली भलिबल खेलाडीहरु छन् भने व्यवसायिक रुपमै पनि आठ नेपाली भलिबल क्लबहरु अष्ट्रेलियाका विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन्।

सन् २०१६-१७ मा अष्ट्रेलियामा आयोजित विभिन्न भलिबल प्रतियोगिताका दौरान खेलाडीले प्रदर्शन गरेको उत्कृष्टता, व्यवसायिक अनुशासनका साथै आ-आफ्नो टिमका लागि उनीहरुले पुर्याएको योगदान लगायतका आधारमा खेलाडीहरु सम्मानित हुनेछन्। सम्मानित हुने खेलाडीहरुले निम्न अवार्डहरु हात पार्ने छन्:

१. पिभिसी लिफ़्टर अफ दि ईयर – २०१७
२. पिभिसी ब्लकर अफ दि ईयर – २०१७
३. पिभिसी क्विकर अफ दि ईयर – २०१७
४. पिभिसी स्पाइकर अफ दि ईयर – २०१७
५. पिभिसी सर्भर अफ दि ईयर – २०१७
६. पिभिसी रुकी अफ दि ईयर – २०१७
७. पिभिसी फरेभर योङ्ग प्लेयर अफ दि ईयर – २०१७
८. पिभिसी प्लेयर अफ दि ईयर – २०१७

अष्ट्रेलियाको नेपाली खेलकुद इतिहासमै भलिबल विधामा प्रदान गर्न लागिएको यो पहिलो अवार्ड हो। सन् २०१० देखि ‘पोखरा क्लब’ र ‘पोखरा समाज’ हुँदै भलिबल केन्द्रित गतिविधी संचालन गर्नका लागि सन् २०१५ मा ‘पोखरा भलिबल क्लब’ अष्ट्रेलियामा दर्ता भएको थियो। यसअघि पोखरा भलिबल क्लबले सर्वाधिक पुरस्कार राशिको ‘होल्म्स कप भलिबल प्रतियोगिता २०१६’ आयोजना गरिसकेको छ।

क्लबका प्रवक्ता अमर गुरुङले दिएको जानकारी अनुसार भलिबलको लोकप्रियता अष्ट्रेलियावासी नेपाली समुदायमा पनि बढ्दो छ। विभिन्न स्थान र सबर्बमा नेपाली भलिबल खेलाडीहरु छन् भने व्यवसायिक रुपमै पनि आठ नेपाली भलिबल क्लबहरु अष्ट्रेलियाका विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन्।

खेलमा कम उमेर समूहका युवा वर्गको सहभागितालाई उत्साहजनक रुपमा बढाउनका लागि २३ वर्ष भन्दा कम उमेर समूह बाट एक खेलाडी लाई “रुकी अफ दि ईयर” अवार्ड प्रदान गर्न लागिएको प्रवक्ता गुरुङले बताए। उनले नेपाल रिपोर्ट्सलाई बताए अनुसार ४० वर्ष भन्दा बढी उमेर समूहबाट पनि एक खेलाडीलाई “फरेभर योङ्ग प्लेयर अफ दि ईयर” अवार्डले सम्मानित गरिनेछ।

नेपालको राष्ट्रिय खेल भलिबलको अष्ट्रेलियामा आयोजना हुन लागेको यस ऐताहासिक अवार्डको शिर्ष प्रायोजन सिड्नी स्थित ग्लोबल कन्सल्टले गर्ने भएको छ। ग्लोबल कन्सल्टका निर्देशक दिपक क्षेत्रीले यस अवार्डले अष्ट्रेलियाको नेपाली समुदायमा भलिबल खेलको प्रवर्धन तथा व्यवसायिक विकासमा ठुलै भूमिका निर्वाह गर्नेमा आफूहरु विस्वस्त रहेको बताउनु भयो।

नेपालका प्राय सबै ठाउँमा खेलीने भलिबल खेललाई नेपाल सरकारले यसै वर्षदेखि नेपालको राष्ट्रिय खेल समेत घोषणा गरेको छ। अष्ट्रेलियाको नेपाली समुदायमा पनि भलिबल खेलको लोकप्रियता चुलिंदो छ।

(46)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *