Home News Nepal बिजुली पोलमा होटलका मेनु

बिजुली पोलमा होटलका मेनु

67
0

सुरेशराज अधिकारी-
पोखराका सडकमा हिँड्दै गर्दा अनौठा अनौठा कुरा तपाईंले देख्नुहुनेछ । यतिसम्म कि सडकबाटै तपाइँले होटलका मेनु पाउनुहुनेछ । होटल छिर्दा वेटरले मेनु तेस्र्याएर अर्डर माग्छ । तर, पोखरामा परिकारको मूल्य थाहा पाउन बिजुलीका पोलतीर हेरे पुग्छ ।  चिप्लेढुंगा–महेन्द्रपुलतिर पुग्नु भो भने सडकमा ठड्याइएका बिजुलीको पोलबाटै कति रुपैयाँमा के खाने हो भन्ने होटलका परिकारका जानकारी हुनेछ । पोलमा होटलका मेनुदेखि, कोरियन भाषाको कक्षासम्मका प्रचार सामग्रीले पोखरालाई नै कुरुप बनाएको छ । महेन्द्रपुल चिप्लेढुंगा लगायत पोखराका विभिन्न ठाउँमा बिजुलीका पोलमाथि विज्ञापनिक पर्चा सामग्री, ब्यानर र बोर्ड टाँसेर फोहोर बनाइएको हो । पोलको माथिल्लो भागमा जेलिएका बिजुली, केबल, टेलिफोन लगायतका तार छन् । तल्लो भाग विभिन्न व्यानर तथा बोर्डले छोपिएको छ । बिजुलीका पोलमाथि प्रचारका लागि राखिएको बोर्ड व्यवस्थित बनाउन नसकेर पोखराको रुप बिग्रदै गएको छ ।
कतिपय पोलमा चुनावमा प्रचारका लागि राजनीतिक दलले राखेका पार्टीका झन्डासमेत अझै हटेका छैनन् । बिजुलीका पोललाई यसरी विज्ञापन गर्ने थलो बनाएर पोखरालाई नै कुरुप बनाउँदा महानगरपालिकाले के हेरेको छ त ? पोखरा महानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डे जवाफ दिन्छन्, ‘बिजुलीको पोलमाथि टाँसिएका ब्यानरको विषयमा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघबीच सम्झौता भइसकेको छ ।’
यो व्यवस्थापनको काम वातावरण शाखा अन्तर्गत नपर्ने बताउँदै कर शाखाले ब्यानरको शुल्क लिने र दिने भएकाले उसैले हेर्नुपर्ने भन्दै उनी पन्छिए । महानगपालिका निरीक्षण महाशाखाका वरिष्ठ अधिकृत वसन्त चालिसले भने, ‘वातावरण सरसफाइ शाखाबाट हटाउने आदेश आएको छैन । वातावरण सरसफाइ शाखाबाट लिखित रुपमा जानकारी आएमा जसरी पनि हामी हाटाउँछौं ।’ यस विषयमा पोखरा लेखनाथ महानपालिकामा पूर्व कार्यकारी अधिकृत नवराज ढुंगानाको कार्यकालमा नगपालिका र उद्योग वाणिज्य संघबीच आर्थिक वर्ष २०७३÷०७४ मा यससम्बन्धी सम्भौता भएको कर अधिकृत शिवहरि शर्माले बताए ।
कर असुल्ने, व्यवस्थापन नगर्ने
पोखरा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघबीच बिजुलीका पोललाई विज्ञापन गर्ने थलो बनाउने र पैसा असुल्ने सम्झौता नै भएको छ । २ संस्थाबीच भएको सम्झौतामा उद्योग वाणिज्य संघले २४ लाख तिरेर नगरका सबै पोलमा ब्यानर टाँसेको शुल्क उठाउने ठेक्का लिएको छ । बिजुलीका पोललाई विज्ञापन गर्न प्रयोग गर्ने तर त्यसको व्यवस्थापन गर्ने भने दुवै संस्थाले जिम्मेबारी नलिदा पोखरा झन् कुरुप हुँदै गएको हो । पुराना वा शुल्क नतिरेका पोलमा प्रचारको ब्यानर टाँसेको बारेमा कसले हेर्ने, त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषय विज्ञापन गर्ने र पैसा उठाउने दुवै संस्था अस्पष्ट छन् । नगपालिकाले २०६९ देखि ७४ सालसम्म पोलमा ब्यानर टासेको शुल्क मात्र ९६ लाख १२ हाजार २ सय ४० रुपैयाँ संघबाट बुझिसकेको छ । तर, विज्ञापनमार्फत प्राप्त रकम पोलमा राखिएको ब्यानर, बोर्ड जथाभावी रुपमा प्रयोग भएका फोहोर व्यवस्थापन गर्न लागि भने खर्च भएको छैन ।
एकातिर नगरपालिका तथा उद्योग वाणिज्य संघले पोखराको सुन्दरतालाई नै असर पार्ने गरी जथाभावी रुपमा होडिङ बोर्ड तथा ब्यानर टाङ्ने सम्झौता गर्ने र अर्कोतर्फ अन्य व्यावसायिक कम्पनीहरुले बिजुलीकै मनपरी पर्चा टाँसिदिँदा सहर कुरुप बनेको हो । विज्ञापन गर्न बिजुलीको पोललाई प्रयोग गरेर सहरलाई फोहोर बनाउन नहुने नागरिकस्तरबाट बेला बेलामा आवाज उठ्ने गरेको छ । पैसा कमाउने माध्यम बिजुलीको पोललाई बनाए पनि त्यसबाट उठेको रकम सहर स्वस्च्छ र विज्ञापनिक सामग्री व्यवस्थापनमा नलगाउनु गैरजिम्मेवारपूर्ण भएको स्थानीयको भनाइ छ ।

(67)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *