Home News Nepal ‘पानी थोरै, बिल धेरै’

‘पानी थोरै, बिल धेरै’

6
0

अर्जुन गिरी-

नेपाल खानेपानी संस्थान पोखराले पानी कम तर शुल्क धेरै लिने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । पटकपटक गुनासो गर्दा समेत संस्थाले बेवास्ता गरेको सेवाग्राहीको दाबीछ । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले बुधबार गुनासो संकलन गर्न राखेको डेक्समा खानेपानी संस्थानबारे गुनासो र आक्रोशको बाढीनै देखियो । पानी समयमा नदिइने तर शुल्क अनावश्यक बढी लिने गरेको पूर्व उपसचिव कृष्ण पौडेलले गुनासो गरे । ‘मैले असोजदेखि आजसम्म धेरै शुल्क तिर्दै आएको छु, संस्थानले मेरो गुनासो सुन्छ मात्र समाधान गरेको छैन,’ उनले भने, ‘भदौसम्म महिनको १ हजारभन्दा कम तिरेको थिए, त्यसपछि घरमाकम पानी चलाउँदा समेत १५ सयभन्दा बढी रकम तिर्नुपरेको छ ।’

उनले आफ्नो समस्य पटकपटक कार्यलयमा सुनाउँदा समेत कुनै सुनुवाइनभएको भन्दै आक्रोश पोखे । ‘पानी बन्द गर्ने गेटबल्ब बन्द गर्दा समेत मिटर आफै घुम्छ,’ उनले भने, ‘यसको बारेमा संस्थानमा भन्दासमेत सुनुवाइ भएन । पैसा त तिर्नै पर्‍यो नत्र पानीनै बन्द गरिदिन्छ कि भन्ने डर ।’ उनकै जस्तोसमस्या झेल्नुपरेको छ पोखरा–१३, गौतममार्गकी बेलकुमारी खत्रीले पनि । ‘आफूले कति पानी चलाइन्छ भन्ने हामीलाई अड्कल हुन्छ,’ उनले भनिन् ‘तर पनि बिल आउने बेलामा १२ सयभन्दा बढी आउँछ, कस्तो अच्चम !’ संस्थानमा गुनासो गर्दा पनि कर्मचारीले अटेर गरेको खत्रीले सुनाइन् । ‘कर्मचारीले हुन्छ हुन्छ मात्र भन्छन्, हेर्न आउँदैनन,’ उनले थपिन्, ‘गुनासो गर्दागर्दै हैरान भइसकें ।’

त्यहाँ गुनासो गर्न आएका मध्ये ९५ प्रतिशत सेवाग्रहीको शुल्क सम्बन्धीनै गुनासो आयो । त्यसबाहेक पानी नियम नआउने, आउने दिनमा जानकारी समेत नहुने, बोरिङको पानीले समस्य आएको, कर्मचारीको मनपरी लगायत दर्जनौ समस्या पोखेका थिए सेवाग्राहीले । डेस्कमा बुधबार ५१ वटा गुनासो संकलन भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए ।

संस्थाले सबै कुरा नियम बनाएर अघि बढ्नु पर्नेमा जोड दिए धनबहादुर पुनले । पोखरा–१० घर भएका पुन पनि आफ्नो गुनासोको पोको खुल्दै थिए त्यहाँ । ‘गुनासो लिएर आयो एक दिनभर जान्छ, तर सुनुवाई हुदैन,’ उनले थपे, ‘संस्थानले कुन टोलमा कति वेला पानी आउछ भन्ने तालिक सार्वजनिक गर्‍यो भने राम्रो हुन्थ्यो ।’

सेवाग्राहीलाई सेवासुविधा थप्ने ठाउँमा उल्टो समस्यानै समस्या दिने गरेको उनको भनाइ थियो । ‘प्रभावकारी रुपमा हेल्पलाइन हुनुपर्छ,’ उनले भने, ‘कुन टोलमा कुन कर्मचारी खटिएको छ भन्ने नाम र नम्बर सार्वजनिक रुपमा जानकारी हुनुपर्छ ।’संस्थानलेनै फोहर पानी वितरण गरेको हुनाले मिटर र गेटबल्ब बिग्रिने गरेको उनले बताए । ‘उतावाटै पानी आउदा लेदोसहितको पानी आउँछ अनि मिटर र गेटवल बिग्रिदैन त, ?’ उनले भने, ‘यस बारेमा पनि संस्थानले ध्यान दिन जरुरी छ ।’

नयाँ गाँउका आशीष पराजुलीले संस्थानले वितरण गर्ने बोरिङको पानीले समस्या ल्याएको आरोप लगाए । ‘बोरिङको पानीले धारमा सेतो खइ लाग्दो रहेछ,’ उनले भने, ‘त्यति मात्र होइन भाडाको पिँधमा पनि त्यही सेतो जमेको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हो ।’सुनासका पूर्व अध्यक्ष पुण्य पौडेलले उपभोक्ताका गुनासो सम्बोधन गर्न संस्थानका पोखरा प्रमुखको ध्यानाकर्षण गराउने जानकारी दिए ।

 

(6)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *