Home News Nepal चुनावले रगत अभाव

चुनावले रगत अभाव

6
0

गोविन्द सुवेदी

पोखरा, काठमाडौं, चितवन लगायत पहिलो चरणमा निर्वाचन हुने प्रदेशभित्रका सहरमा रगत अभाव भएको छ । विभिन्न संघ, संस्था र व्यक्ति निर्वाचन केन्द्रित भएकाले रक्तदान कार्यक्रम नहुँदा अभाव भएको हो । रगत अभाव भएकै कारण यतिबेला आकस्मिक रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी र रक्त सञ्चार केन्द्रले आह्वान गरेका छन् । रक्त सञ्चार केन्द्र पोखराका अनुसार अहिले एबी, ए, बि पोजेटिभ र ओ ग्रुपको रगत बढ्ता अभाव छ ।
नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष एवं क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका संयोजक धर्म अधिकारीका अनुसार अहिले अधिकांश संघ, संस्था र व्याक्तिलाई चुनाव लागेका कारण रक्तदान कार्यक्रम नहुँदा समस्या आएको हो ।

‘अधिकांश मानिसलाई चुनाव लागेको छ, त्यसै कारण रक्तदान कार्यक्रम हुन सकेनन्,’ उनले भने, ‘हामी निर्वाचनको दिनमा बाहेक हरेक दिन साँझ बिहान जति बेला भए पनि रक्तदान लिन तयार छौं ।’ रक्तदान गर्न चाहने जुनसुकै रक्तदाताले सोझै रक्त सञ्चार केन्द्रमा पुगेर पनि रक्तदान गर्न सक्ने उनले जानकारी दिए । समग्रमा सबै ग्रुपको रगत अभाव रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका इन्चार्ज धु्रवमोहन लामिछानेले बताए । रगत अभाव भएपछि रक्तदान गर्न आह्वान गरिएको र जुनसुकै बेला पनि रक्तदान लिन आफूहरू तयार रहेको इन्चार्ज लमिछानेले बताए । केन्द्रमा दैनिक ३ सय युनिट भन्दा बढ्ता रगत मौज्दात हुनुपर्नेमा अहिले २ सय हाराहारीमा मात्र छ ।

नियमित मौज्दातले करिब १ हप्ता थेग्थ्यो । त्यसमै कमी हुँदा समस्या आएको हो । बिहीबार पोखराको महेन्द्रपुल चिप्लेढुंगामा आकस्मिक रक्तदातन गरेर ८० युनिट रगत संकलन गरिएको छ । त्यसैगरी शुक्रबार पनि पोखराको पृथ्वीचोकमा आकस्मिक रक्तदान गरिएको छ । उक्त रक्तदानमा ६२ युनिट रगतदान भएको छ । साँझ मनिपाल अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । तर पनि यसले नथेग्ने उनले जानकारी दिए । पोखरामा सामान्य अवस्थामा दैनिक झन्डै ८० युनिट रगत माग छ । निर्वाचनका बेला यो माग अधिक हुन सक्छ ।

निर्वाचनका बेला झैझगडा अधिक हुने गर्छ । त्यसबाट उत्पन्न हुने अवस्थाका कारण रगतको माग पनि अत्यधिक आउन सक्छ । रक्तदान दिनहुँ हुने हुँदा रगतको प्रवाहमा समस्या हुँदैन । यस्तो अवस्थामा मात्र नियमित मौज्दातले थेग्छ । तर, अहिले नियमित राख्नुपर्ने मौज्दात नै सय युनिट घटी छ । अझै केही दिन निर्वाचनमा मानिसहरु लाग्ने हुँदा रगत प्राप्त हुन कठिन हुने निर्देशक लामिछाने बताउँछन् । लामिछानेका अनुसार अहिले केन्द्रसँग प्लाज्मा भने प्रशस्त छ । प्लाज्मालाई माइनस ४० डिग्री सेल्सियस तापक्रममा १ वर्षसम्म मौज्दात राख्न सकिन्छ । होल ब्लड र प्याकसेल ब्लड अभाव छ । यो रगतलाई ४ देखि ६ डिग्री सेल्सियस तापक्रममा ५ र ६ हप्तामात्र मौज्दात राख्न सकिन्छ । लामो समय मौज्दात राख्न नसकिने भएकाले होल ब्लड र प्याकसेल ब्लडका लागि नियमित रक्तदान कार्यक्रम आवश्यक पर्छ ।

(6)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *