Home News Nepal ‘मतदाता शिक्षा प्रभावकारी भएन’

‘मतदाता शिक्षा प्रभावकारी भएन’

17
0

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा असाध्यै कमजोर भएको जनाउँदै अबको बाँकी अवधिमा मतदाता शिक्षामा ध्यान दिन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।  आयोगका सदस्य सुदीप पाठकले मतदाता परिचय पत्र वितरणदेखि मतदान स्थल बाहिर नियमित रुपमा मतदाता शिक्षा चलाउनुपर्ने सुझाव दिए । ‘मतदान दिन पनि मतदान स्थल बाहिर मतदाता शिक्षा दिन अपिल गर्दछु,’ उनले भने, ‘त्यसका लागि निर्वाचन आयोगले आवश्यक परे बजेटको व्यवस्थासमेत गरोस् ।’ स्थानीय निर्वाचनको अवधिमा हुने अधिकार उल्लंघनका घटनाको अनुगमन गर्न आयोगले बनाएको उच्च स्तरीय टोलीका प्रदेश नम्बर ४ का संयोजकसमेत रहेका पाठकले मतदाता शिक्षामा असाध्यै कमजोर देखिएको बताए । उनले सबै दल मिलेर मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने उल्लेख गरे ।
स्थानीय तहको वैशाख ३१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १ गतेदेखि मतदाता स्वंयमसेवक खटाएको थियो । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ र तनहुँको स्थलगत अवलोकन गरेर पोखरा आइपुगेका पाठकले निर्वाचन हुने र नहुनेमा दुविधा भएका कारण मतदाता शिक्षा प्रभावकारी हुन नसकेको उल्लेख गरे ।  मानव अधिकार आयोगको उच्चस्तरीय टोलीले चैत २६ देखि जेठ ५ गते सम्म समग्र निर्वाचन प्रक्रियाको स्थलगत अवलोकन गर्ने छ । त्यसका लागि आयोगका अध्यक्ष अनुपराज शर्मा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच समझदारी पत्रमा हस्तास्क्षर भएको छ ।
आयोगका सदस्य पाठकले चुनावमा बालबालिकाको प्रयोग, अपांग, ज्येष्ठ नागरिक, अशक्त र पिछडिएको वर्गको सहज पहुँचको अनुगमन गर्ने बताए ।

कुनै पनि उम्मेद्वारले सुरक्षा निकायमा सुरक्षाको माग नगरेको उल्लेख गर्दै उनले केही छिटफुट घटनाबाहेक सुरक्षाको प्रवन्ध व्यवस्थित देखिएको जानकारी दिए । ‘शान्ति, सुरक्षाको व्यवस्थापनको पक्ष सरकारको हो,’ उनले भने, ‘सरकारले उम्मेद्वार, मतदाताको सुरक्षाको प्रत्याभूति दिलाउन पर्छ ।’ आयोगका सदस्य पाठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन सरोकारवाला सक्रियतापूर्वक लाग्न पर्ने धारणा राखे । उनले सबै मिलेर आम मतदातालाई निर्वाध रुपमा निर्वाचनमा सहभागी बन्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले चुनावमा बालबालिकाको प्रयोग रोक्न पहल भएको उल्लेख गरे । उनले दलहरू एकले अर्कोलाई सम्मान गर्ने र मित्रवत प्रतिस्पर्धा हुनु निर्वाचनको सुन्दर पक्ष भएको बताए ।

आयोगका सदस्य पाठकले निर्वाचनमा सरकारका अगंले निश्पक्ष र प्रभावकारी भूमिका निर्वाएको अनुभूत हुनपर्ने धारणा राखे । गोरखामा अस्थायी टहरामा मतदान केन्द्र राखिएको उल्लेख गर्दै उनले सकेसम्म वैकल्पिक व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानकर्षण गराए । जिल्लामा मुख्य निर्वाचन अधिकृतहरूले हतार र दवावमा काम गर्दा कठिनाई भएको जनाएको उल्लेख गदै उनले नियमित रुपमा गर्ने गरी क्यालेन्डर बनाएर काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा आयोगका क्षेत्रीय कार्यालयका निमित्त निर्देशक नितु गर्तौला, पत्रकार महासघं कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा गर्नुपर्ने बताए ।

(17)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *