Home News Nepal ‘आचारसंहिता लत्याउँछन् तर उजुरी पर्दैन’

‘आचारसंहिता लत्याउँछन् तर उजुरी पर्दैन’

7
0

अमृत सुवेदी
पोखरा, २८ वैशाख
स्थानीय निर्वाचन आचारसंहिता विपरीत बिहीबार पोखरामा सबैजसो दलले ¥याली निकाले । आचारसंहिता अनुसार मोटरसाइकल तथा धेरै गाडीसहित ¥याली निकाल्न पाइँदैन । कांग्रेस, एमाले, माओवादी केन्द्रदेखि साना दल र स्तवन्त्र उम्मेदवारले समेत ¥याली निकाल्नेदेखि भोजभतेर खुवाउने, मतपत्र बिगारेर बाँड्नेलगायत थुप्रै आचारसंहिता मिचेका छन् । तर, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी नै परेको छैन । जिल्लामा बनेको जिल्ला अनुगमन समिति भन्छ, ‘लिखित उजुरी नपरी हामीले केही गर्नै मिल्दैन ।’ आचारसंहिता भन्छ, ‘गम्भीर आचारसंहिता उल्लंघनका उजुरी आए १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसमेत हुनसक्छ ।’ तर, सबै दलले आचारसंहिता मिचे पनि उजुरी नपर्दा दलहरुलाई झन् काइदा भएको छ ।
खास किन पर्दैनन् त उजुरी ? ‘१–२ वटामात्रै दलले नियम मिचेका छैनन् । सबैजसो दलले मिचेका छन् । नागरिक पनि कोही न कोही पार्टीकै कार्यकर्ता छन् । अनि एउटाले मात्रै होइन क्यारे भनेर उजुरी नै नगर्ने पाएका छौं,’ क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले भने, ‘तर, गलत कामको पनि विरोध र उजुरी नदिने परिपाठीले गलत संस्कारकै विकास हुन्छ । त्यसैले नियम मिचिँदा उजुरी दिने गरौं ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म सामान्य घटनाका २ वटामात्रै लिखित उजुरी परेका छन् । ‘आचारसंहिता उल्लघंन भए पनि सचेत गराउनेबाहेक खासै ठूलो कारबाही नहुने भएकाले पनि उजुरी गर्ने र दलहरुलाई सचेत गराउन काम कम भएको हो,’ परिवेक्षकसमेत रहेका शेखर पराजुली बताउँछन् । दलहरुमात्रै होइन, सरकारी कर्मचारी, सार्वजनिक पद धारण गरेको व्यक्तिदेखि पत्रकारसम्मले निर्वाचन आचारंसहतालाई मिचेका छन् ।

तर, कार्यान्वयन गराउने निकायको कमजोरी, अनुगमन नहुँने र भए पनि उजुरी नगर्ने अनि उजुरी परे पनि कडा कारबाही नहुँदा कानुन कागजमामात्रै सीमित बन्न पुगेको हो ।आचारसंहिताले शुक्रबारदेखि मौन अवधि तोकेको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यो समयमा कुनै पनि दलले प्रचारप्रचार, भोट माग्ने गर्न पाउँदैनन् । निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टा अगाडिदेखि मौन समय सुरु हुने कानुनी व्यवस्था छ । यो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन भने मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाउनु पर्छ ।
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने नियम छ । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्नसमेत नपाइने नियम छ । शुक्रबारदेखि सबैलाई मौन अवधि तोकिएको छ तर निर्वाचन आयोगले भने निर्वाचनको पक्षमा प्रचार र माइकिङ गर्नेछ । ‘अबको प्रचार समय निर्वाचन आयोगको हो । निर्वाचनका पक्षमा र मतदाता परिचयपत्र लिन आयोगले आह्वान गर्दैछ,’ क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले भने, ‘अरुलाई लागेको मौन अवधिकै समय प्रत्येक निर्वाचन केन्द्रमा मतदान तयरी हुनेछ भने ३० गतेसम्म मतदाता परिचयपत्र वितरणको काम हुनेछ ।’

(7)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *