Home Business मनिपालको नवीकरण र स्तरोन्नति स्थगित

मनिपालको नवीकरण र स्तरोन्नति स्थगित

8
0

कागवेनी दुर्घटनाका घाइतेलाई उपचार गर्न नमान्ने मनिपाल शिक्षण अस्पताल, त्यसका निर्देशक, डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा कानुनी राय लिएर आइतबार कारबाहीको फाइलमा हस्ताक्षर गरेका छन् । मन्त्री थापाले मनिपाल अस्पतालको दर्ता नवीकरण र स्तरोन्नतिको काम तत्काललाई स्थगित गर्ने निर्णय गरेका छन् ।

मेडिकल कलेजको अनुमति शिक्षा मन्त्रालय अन्तर्गत भएकाले शिक्षण अनुमतिको सम्बन्धमा थप कारबाहीका लागि शिक्षा मन्त्रालयमा पत्राचार गर्ने निर्णयसमेत गरिएको स्वास्थ्य मन्त्री थापाका कानुनी सल्लाहकार राजु कटुवालले बताए । ‘मनिपाल शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयसमक्ष दिएको अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने र मनिपाल शिक्षण अस्पतालले शिक्षा मन्त्रालयबाट प्राप्त गरेको लाइसेन्सको सम्बन्धमा आवश्यक कारबाहीका लागि शिक्षा मन्त्रालयमा अनुरोध गर्ने,’ कारबाही पत्रमा उल्लेख छ ।
मन्त्रालयले अस्पतालका निर्देशक पिके चक्रवर्ती र चिकित्सकलाई तत्कालै कारबाही गरी १५ दिनभित्र त्यसको जानकारीसहित पत्राचार गर्न नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ । ‘मनिपाल शिक्षण अस्पतालका निर्देशक तथा चिकित्सकलाई कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई छ,’ कारबाही पत्रमा भनिएको छ, ‘त्यसकारण काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन र त्यसको जानकारी १५ दिनभित्र मन्त्रालयमा गराउन लेखी पठाउने ।’
मन्त्रालयले अत्यावश्यक सेवा सञ्चलन ऐन, २०१४ अन्तर्गत आवश्यक कारबाही अगाडि बढाउन गृह मन्त्रालयलाई समेत अनुरोध गर्ने भएको छ ।
मन्त्रालयले ड्युटीमा तोकिएका एवं आन्दोलनरत डाक्टर, स्वास्थ्यकर्मी लगायतका कर्मचारीलाई समेत कारबाही गर्न मणिपाललाई पत्राचार गर्ने निर्णय गरेको छ । मन्त्रालयले उनीहरुलाई अस्पतालको सेवा सर्त नियमावली अनुसार १५ दिनभित्र कारबाही सम्पन्न गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ ।
मनिपालले अन्यत्र पठाएका कागबेनी दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार व्यवस्था निशुल्क रुपमा गर्न पनि मन्त्रालयले अस्पताल व्यवस्थापनलाई निर्देशन दिएको छ । ‘दुर्घटनाका घाइतेलाई अस्पताल व्यवस्थापन समिति तथा त्यहाँ कार्यरत चिकित्सकको गैरजिम्मेवारीपूर्ण कामकारबाहीका कारण बिरामी भर्ना गरी आकस्मिक स्वास्थ्य उपचार प्रदान नगरिएको कारण अन्यत्र पठाइएका बिरामीको सम्पूर्ण उपचारको व्यवस्था निशुल्क रुपमा गर्न मणिपाल शिक्षण अस्पताल व्यवस्थापनलाई निर्देशन दिने,’ कारबाहीको पत्रमा भनिएको छ ।
संविधानले मौलिक हकका रुपमा ग्यारेन्टी गरेको नागरिकको आकस्मिक स्वास्थ्य सेवा पाउने हकको हनन् गर्ने व्यक्ति, संस्थाउपर कस्तो कानुनी कारबाही गर्ने भन्ने विषयमा अविलम्ब कानुन निर्माण प्रक्रिया सुरु गर्न मन्त्रालयले ऐन, नियम परामर्श शाखालाई निर्देशन दिएको छ ।
वैखाख ९ गते शनिबार मुस्ताङको कागबेनी सडक दुर्घटनाका १५ घाइतेलाई हेलिकोप्टरबाट मनिपाल पु¥याइएकोमा चिकित्सकको आन्दोलनलाई कारण देखाउँदै अस्पतालका निर्देशक पिके चक्रवर्तीले बिरामी फर्काएका थिए । उक्त घटनाको छानविन गर्न मन्त्रालयले ३ सदस्यीय टोली गठन गरेको थियो ।

(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *