Home Business मनिपालको दर्ता खारेज गर्न सुझाव

मनिपालको दर्ता खारेज गर्न सुझाव

10
0

कागबेनी दुर्घटनाका घाइतको उपचार नगर्ने मनिपाल मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकको दर्ता खारेज गर्न स्वास्थ्यमन्त्री गगन थापाका कानुनी सल्लाहकारले सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अध्ययनपछि कानुनी सल्लाहकार राजु कटुवालले मन्त्रीलाई यस्तो सल्लाह दिएका हुन् ।

कागबेनीमा वैशाख ९ गते तीर्थयात्री चढेको गाडी दुर्घटना घाइतेको मनिपालले उपचार नगरेकाबारे स्वास्थ्य मन्त्रालयको छानविन समितिले प्रतिवेदन बुझाएको हो । संविधानको घारा ३५(१) अनुसार कुनै पनि नागरिकलाई आकस्मिक उपचार बाट बञ्चित गर्न नपाइने संवैधानिक व्यवस्थाबिपरीत अस्पताल प्रशासन र चिकित्सकहरुले आफ्नो पदीय दायित्व र कर्तव्यसमेत बिर्सिएको सुझावमा उल्लेख छ ।
कटुवालका अनुसार छानबिन समितिको प्रतिवेदन अध्ययन गरेर दोषी देखिएका प्रशासन र चिकित्सक दुवै पक्षलाई कडा कारबाहीको लागि स्वास्थ्य मन्त्रीसमक्ष सिफारिस गरिएको हो । मन्त्रीलाई बुझाइएको कानुनी रायमा छानबिन समितिले दोषी ठहराएको मनिपाल र त्यहाँका चिकित्सकको इजाजत पत्र खारेजीसम्म गर्न सकिने उल्लेख छ । मेडिकल कलेज भएकाले थप कारबाही गर्न शिक्षा मन्त्रालयलाई समेत पत्र लेख्ने सल्लाह दिइएको छ । स्वास्थ्य संस्था अत्यावश्यक सेवा ऐन २०१४ भित्र पर्ने भएकोले गृह मन्त्रालयलाई अत्यावश्यक सेवा ऐनअनुसार चिकित्सक, अस्पताल प्रशासन, कर्मचारीलगायत दोषी देखिएकालाई कारबाही गर्न अनुरोध गर्ने सल्लाह दिइएको छ ।
मनिपाल अस्पतालमा फागुन पहिलो सातादेखि १ सय २२ चिकित्सकमध्ये ५७ नेपाली चिकित्सकले कलेज प्रशासनसँग विभिन्न माग राखेर आन्दोलन गर्दै आएको बेलामा कागबेनी घटना भएको थियो । आन्दोलनकै कारण देखाएर कलेज प्रशासनले घाइतेलाई इमर्जेन्सीमा भर्ना नलिएर फर्काइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । ६५ जना सिनियर कन्सल्ट्यान्ट कलेजमै कार्यरत रहँदा पनि १५ जना घाइतेको उपचार व्यवस्थापन गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

(10)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *