Home Business बिक्नै छाड्याे घरजग्गा

बिक्नै छाड्याे घरजग्गा

21
0

गाेविन्द सुवेदी-

लगानीय योग्य रकम कम भएको भन्दै बैंक तथा वित्तीय संस्थाले लगानी घटाएपछि पोखरा र आसपासमा घरजग्गा कारोबार खस्केको छ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्न थालेपछि अटोसागै घरजग्गाको कारोबार सिथिल भएकोल हो । जिल्ला मालपोत कार्यालय कास्कीमा हिजोआज पहिलाको जस्तो भीड देखिँदैन । बैंकहरुले कर्जामा कडाई गरेसँगै जग्गाको कारोबारमा पनि मन्दी आएको मालपोतका अधिकारीहरु बताउँछन् । जग्गाको कारोबार कम भए पनि जग्गाको न्यूनतम लागत मूल्यांकन अघिल्लो वर्षको तुलनामा २० देखि सय प्रतिशतसम्म बढेकाले पोहोर वर्ष भन्दा यो वर्ष राजस्व बढेको मालपोत अधिकृत ऋषिराम सुवेदीले बताए ।

कात्तिक महिनादेखि सुरु भएको तरलता अभाव अहिलेसम्म कायम नै छ । कास्कीमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । जिल्ला मालपोत कार्यालय कास्कीमा कात्तिकमा भन्दा मंसिरमा लिखत दर्ता धेरै भए पनि त्यसपछि घट्दै गएको देखिन्छ । यो वर्ष कात्तिकमा ३ हजार ५ सय ८० लिखत दर्ता छ । मंसिरमा ४ हजार १ र पुसमा ३५ सय ५६ लिखत दर्ता भएको छ । माघमा २ हजार ९ सय १३ लिखत दर्ता भए । फागुनमा भने जम्मा २ हजार ४२ लिखत दर्ता भए । लेखनाथमा मालपोतको इलाका खुले पनि प्रक्रिया अझै पूरा नभइसकेकाले उल्लेख्य काम हुन सकेको छैन ।

माघमा १० करोड २२ लाख ८८ हजार २ सय रुपैयाँ राजस्व संकलन भएकामा फागुनमा त्यो घटेर ६ करोड ७१ लाख ४९ हजार २ सय ४३ रुपैयाँ राजस्व संकलन भएको छ । चैतको तथ्यांक ननिकालिएको भए पनि कारोबार झनै घट्दो क्रममा रहेको मालपोत अधिकृत सुवेदीले जानकारी दिए । जग्गामा बैंकहरुको लागानी पछिल्लो समय फाट्टफुट्ट हुने गरेको भए पनि नगन्य छ । अहिले पनि ऋण माग्दै आउने नयाँ ग्राहकलाई बैंक तथा वित्तीय संस्थाहरुले निरास बनाएरै पठाउनु परेको छ । सहकारीले आफ्ना सदस्यलाई दिने ऋणमा भने कमी आएको छैन ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले तरलता अभावका कारण घरजग्गामा ऋण प्रदान गर्न नसकेको बताए । ‘तरलता अभावका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले भने केही बैंकले पुनः कर्जा दिन थालेका छन्, त्यो जग्गामा भन्दा अन्तै अकर्षित छ ।’ अबको २ वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरु पुरानो अवस्थामा फर्कन नसक्ने र जग्गाको कारोबार समेत ओरालोमा रहने उनको तर्क छ । पोखरामा विभिन्न तरिकाले जग्गामा लगानी भएको स्वीकार गर्दै सधैं यस्तो अवस्था आइरहन नसक्ने हुँदा सचेत रहन उनले आग्रह समेत गरेका छन् । अध्यक्ष लामिछानेले दुईवटा कारणले जग्गाको मूल्यमा गिरावट आउने प्रष्टाए ।

गण्डकी जग्गा तथा आवास विकास संघ पोखराका अध्यक्ष अर्जुन पोखरेलले भने बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता देखिएकाले कारोबार बढ्ने दाबी गरे । ‘तरलता अभावले ३ महिना गाह्रो भएको सत्य हो, उनले भने, ‘विस्तारै कारोबार बढ्दै गएको छ, अब यो महिनाबाट पूरै सल्टिन्छ र बैंकहरुले पनि लगानी गर्छन् ।’ उनले बैंकहरुले अब जग्गामा लगानी नगरी सुखै नपाउने दाबी समेत गरे । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव समेत रहेका पोखरेलले विकास बजेट खर्च हुन थालेकोले पैसाको अभाव नहुने तर्क गरे । त्यस्तै निर्वाचनका बेला पनि अर्थतन्त्र चलायमान हुने हुँदा वित्तीय संस्थाले लगानी गर्ने उनको भनाइ थियो ।

 

(21)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *