Home Entertainment टलकजंग भर्सेस टुल्के हरुवाको चलचित्र

टलकजंग भर्सेस टुल्के हरुवाको चलचित्र

7
0

बिबिसी मिडिया एक्सन नेपालद्धारा उत्पादित रेडियो नाटक कथा मिठो सारङ्गीका लेखtulke 2क र निर्देशकसमेत रहिसकेका खगेन्द्र लामिछाने स्याङ्जा जिल्लामा जन्मिएका हुन् । चलचित्र बधशालाबाट ठूलो पर्दामा छाएका लामिछानेको चलचित्र यात्रा त्यति लामो नभएपनि रंगमञ्चमा भने उनी सन् १९९९ बाटै सक्रिय छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक र अभिनेताको रुपमा सहभागिता जनाईसकेका उनले अतिथि निर्देशकको भूमिकामा रहेर पानीफोटो र अटलबहादुरको कथा नामक नाटकको निर्देशन गरेका छन् । उनीद्धारा अभिनित पहिलो चलचित्र बधशालाले राम्रै चर्चा बटुलेको थियो । पछिल्लो समय उनकै लेखनमा निर्माण भएको चलचित्र ‘टलकजंग भर्सेस’ टुल्के विभिन्न चलचित्र हलहरुबाट प्रदर्शन भैरहेको छ । चलचित्रमा मुख्य पात्र ‘टुल्के’ को भूमिकामा देखिएका लामिछानेसँग नेपाल रिपोर्टस् डटकमका नवराज ढुंगानाले गर्नुभएको कुराकानीको यो संक्षेप ।

१. टलकजंग भर्सेस टुल्केबाट के अपेक्षा गर्नुभएको थियो । फिल्म चलिरहँदा के पाउनुभयो ?
अपेक्षा त के नै भनौं र ? अपेक्षा भन्दापनि एउटा सपना बनेको थियो यो चलचित्र मेरा लागि । चलचित्र बनाउनु एउटा अपेक्षा थियो भने बनिसकेपछि, अपेक्षा पुरा भयो । अहिले उत्साहजनक प्रतिक्रिया पाईरहेको छु । सबै ठाउँमा दर्शक र साथीभाईको सुझावले धेरै हौसला मिलेको छ ।
२. चलचित्रमा एकदमै गाउँले परिवेश र त्यहि अनुसारको बिषयवस्तु पनि समेटिएको छ । लेखनमा चाहिँ कहाँबाट प्रभावित हुनुभयो ?
चलचित्रको अधिकांश छायांकन कास्कीको धिताल गाउँ विकास समितिको ह्याङ्जाकोटमा भएको छ । त्यो परिवेश र भेग म आफु जन्मेको, हुर्केको क्षेत्र हो । यसैले पनि मलाई त्यहि अनुसारको लेखनसँग खेल्न गाह्रो भएन । मेरो जन्मस्थान स्याङ्जा र चलचित्र छायांकन भएको क्षेत्र धिताल मेरा लागि उस्तै छ । चलचित्रमा प्रयोग भएको लवज मैले आमाको काखबाट सिकेको भाषा हो । यहि परिवेशकै कारण मैले जुन भाषा बोल्छु, चाहेर पनि त्यो भाषालाई मोडिफाई गरेर अन्य साहित्यीक शब्दमा ब्याख्या गर्न सक्दिन । अलिकति फरक त बनाउन खोजेको छु, तर गाउँमै बोलिने जस्तो फरक मात्रै बनाएको हो ।
३. चलचित्रको एउटा मुख्य पात्र पनि हो तपाईं । बजारमा चलचित्र आईसकेपछि, के दिन सकेछु र के मा चुकेछु भन्ने लाग्यो ?
अहिले दर्शकले चलचित्र मन पराएका छन् नायकको रुपमा । काम गर्दै जाँदा धेरै कमिकमजोरी त भई नै हाल्छन् । यो चलचित्रमा पनि दर्शकले नदेख्ने गरी भएका थुप्रै गल्तिहरु छन् । कुनैपक्ष सुधार गर्न सकिने नै छन् भने कुनै पक्ष सुधार नै गर्न नसकिने पनि छन् । अर्कोपटक मात्रै सुधार गर्न सकिने कमिकमजोरीलाई त अब यो चलचित्रबाट हटाउन सकिँदैन । अर्को पटकको चलचित्रमा चाहिँ यहाँ भएमा कमिकमजोरीलाई मेटाएर अझै राम्रो गर्ने प्रयास गर्नेछु । दिने कुरामा एउटा सिंगो चलचित्र नै दिईयो दर्शकलाई । चुक्ने हकमा पनि त्यहि हो अर्को पटक कम गल्ति भेटाउनुहुनेछ ।
४. आफैंले लेखेको र खेलेको चलचित्रमा मन परेको कुरो ?
टुल्के पात्रको निर्दोषपना । जसले जे भनेपनि पत्याईहाल्ने । ऐले मार्दिन्छु अनि भन्ने । तर मार्ने कुरा त गाह्रो हो नी । मनमा पाप नभएको चरित्र हो टुल्के । मलाई यहि नै असाध्यै मनपरेको कुरो हो ।
५. रेडियो नाटकदेखि रंगमञ्च हुँदै चलचित्रसम्म आईपुग्दा के भेट्टाउनुभयो ?
सिकेर कहिल्यै सकिँदैन भन्ने भेट्टाएँ । २०५६ सालमा सरुभक्तको गोलाद्र्धको कालो आकाश भन्ने नाटक खेल्दा म औधी खुशि भएको थिएँ । मलाई रंगमञ्चमा तानिन र अझै हौस्याउनले यसले ठूलो मद्धत दियो । यहि नाटकबाटै प्रभावित भएर मैले अरु नाटक र चलचित्रका काम गरेँ । नाटक त नाटक नै हो तर पुर्याउने माध्यममात्रै फरक फरक हुन् । सुरुबाटै नाटकमै काम गरेको भएर त्यति गाह्रो त लागेन । तर रेडियोमा बज्ने, लाईभ प्रस्तुती दिने र टेलिभिजन आउने कुरा मात्रै फरक हो ।
६. अहिलेसम्म सफल मानिएको पृथक चलचित्र लुटका निर्देशक निश्चल बस्नेतसँग कसरी जोडिनुभयो ?
उनीसँग पहिले नै मेरो चिनजान थियो । निश्चलले लुटपछि, आएका धेरै प्रस्ताव अस्वीकार गरेको पनि मलाई थाहा थियो । तैपनि उनले चलचित्र खोजिरहेका थिए । मैले यो फिल्मको स्क्रिप्ट रेडि गरेको थिएँ । उनीसँग कुरा राखेँ, सबै बसेर स्क्रिप्ट पढ्यौं । ओके भयो । यो चलचित्र लिएकोमा बस्नेत आफैं सन्तुष्ट पनि छन् । मैले चलचित्रमा टुल्केको भूमिकालाई न्याय गर्न सक्छु भनेर नै उनले दिएका हुन् । यही हो ।
७. चलचित्रभित्रको एउटा मुख्य पात्रको कुरा गरौं । टुल्के टलकजंग बन्न नसकेको कुरा उठाईएको छ । शिर्षक र कथामा अलिकति तालमेल नमिलेको हो जस्तो लाग्दैन ?
टलकजंगले आफुलाई टलकजंगका रुपमा प्रमाणीत गर्न चलचित्रमा उभिएको छ । आम दर्शकलाई सरल तरिकाले बुझ्दा अलिकति असहज लाग्ला । एउटा गाउँको सोझो मान्छेले आफ्नो पहिचान दिलाउनका लागि संघर्ष गरेको र जति नै प्रयास गरेपनि हुन नसकेको बिषय हो । नाम आधुनिक भयो अनि कलाकार गाउँले परिवेशको भयो । त्यही भएर पनि त्यस्तो लागेको हुनसक्छ । मलाई चाहिँ लाग्छ, नाम र शिर्षकलाई न्याय गरेर मिलाएका छौं ।
८. चलचित्रको कथा पनि अधुरै जस्तो लाग्छ, अर्को भागका लागि पूर्व तयारी त होईन ?
त्यस्तो त होईन । हामी नेपालीको प्राक्टिस संयोगान्त फिल्म हेर्ने भैसकेको छ । हामीले हेर्ने धेरै चलचित्रमा हिरोको रोल लाष्टमा नै पोजेटिभ देखाईन्छ । यो धारलाई परिवर्तन गर्ने हाम्रो प्रयास हो । जुनसुकै चलचित्र हेर्दा होस् दर्शकले आफुलाई त्यहिँभित्रको पात्रका रुपमा लिने गर्दछन् । यहाँ भएको पनि त्यहि हो । सबै दर्शकले आफुलाई सुरुबाटै टुल्केका रुपमा लिँदा अन्तिममा भएको बिछोडले न्यास्रो र खल्लो लागेको हुनसक्छ । वास्तवमा टलकजंग भर्सेस टुल्के एउटा हरुवाको चलचित्र हो । सधैं जितेको भन्दा हारेको पनि बनाउँ न भन्ने भावले नयाँ प्रयोग गरिएको हो । अब लगातार यस्तै प्रयोग भईरहने हो भने यहि राम्रो लाग्न पनि सक्छ ।
९. दर्शकले टलकजंग भर्सेस टुल्के किन हेर्ने ?
यो हामी सबैले भोगेको नेपालीको कथा हो । हामीले तटस्थ भएर कथालाई केलाउने प्रयास गरेका छौं । कथाको समयमा देशमा युद्ध भैरहेको थियो । ए यस्तो पनि भएको थियो है हाम्रो देशमा भनेर सम्झाउन पनि यो चलचित्र पर्याप्त छ । सबैको प्रतिक्रियाका आधारमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ । राम्रो काम गर्ने र राम्रो सपना देख्नेले सकेसम्म हेर्नुहोला । यो चलचित्र हेर्दा कुनै नमज्जा आउँदैन । रमाईलो हुन्छ, मज्जा आउने खालको छ ।

                                                                                                                                                             प्रस्तुतीः नवराज ढुङ्गाना

(7)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *