Home Dhaulagiri धौलागिरि अञ्चल अब भिडियोमा

धौलागिरि अञ्चल अब भिडियोमा

6
0

अडियो रेकर्ड भएको १२ वर्षपछि गीतकार वसन्ती लालचनको धौलागिरि अञ्चल, मन भयो मेरो चञ्चल बोलको गीत भिडियोमा हेर्न पाइने भएको छ । पोखरामा थकाली सेवा समितिले आयोजना गरेको एक कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०६१ सालमै ‘सपनाको गाउँ’ नामक एल्बममा समेटिएको गीतको म्युजिक भिडियो विमोचन गरे । श्रेष्ठले भिडियोसँगै लालचनकै ‘धौलागिरिःकोबाङ हिमालपारिको गाउँ’ एल्बमको समेत विमोचन गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा साहित्य र संगीतले ठूलो भूमिका खेलेको बताए । नेपालको धेरै इतिहाससँग मुस्ताङको साइनो जोडिएको भन्दै श्रेष्ठले मुस्ताङको प्रकृति र संस्कृतिलाई चिनाउन गीतकार वसन्ती लालचनको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘आदिवासीले आफ्नो जातीय संस्कृति र सभ्यताको चर्चा गर्दा साम्प्रादायिक हुन्छ तर अन्यले त्यही कुरा गर्दा राष्ट्रियता हुने ?’ श्रेष्ठले भन्नुभयो, ‘कुनै एक जातिको सभ्यताको विकास भएर मात्र देशको उन्नति हुने भए उहिल्यै भइसक्थ्यो, जसरी फूलबारी सुन्दर हुन सबै फूलहरु फुल्नुपर्छ, त्यसरी नै सबै जातिको संस्कृतिको विकास भए मात्र देशको विकास हुन्छ ।’ स्थानीय सम्भावनाहरुको साहित्य र संगीतमार्फत् उजागर गर्न जिविस, नगरपालिका जस्ता स्थानीय तहले समेत चासो दिनुपर्ने भनाइ उनको छ । गीतकार लालचनले आफूलाई गाउँकै सौन्दर्य र वातावरणले लेख्न प्रेरणा दिएको बताउँदै गीतमार्फत् स्थानीय पर्यटनलाई उजागर गर्न चाहेको बताइन् ।

गीत सरल हुनुपर्ने मान्यता आफ्नो भएको भन्दै लालचनले पहिलो एल्बम ‘सपनाको गाउँ’ मै यो गीतको अडियो समावेश भए पनि भिडियो निर्माण गर्ने सपना चाहिँ अहिले आएर पूरा भएकोमा गौरव लागेको बताइन् । गीतको समीक्षा गर्दै ज्योति भट्टचनले थकालीहरुको उद्गमस्थल मुस्ताङको कोबाङ गाउँको प्रकृति र संस्कृतिलाई गीतले न्याय गरेको बताइन् । उनले लालचनको क्या राम्रो स्याउ बारी बोलको गीतले जस्तै चर्चा यसले पनि पाउने विश्वास व्यक्त गरिन् । थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचनले नेपालमा गाउँको गीत निर्माण गर्ने प्रचलनको विकास हुनुमा वसन्तीका गीतहरुको ठूलो भूमिका रहेको दाबी गरे ।
सञ्चारकर्मी तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सञ्चालन गरेको कार्यक्रममा थकाली सेवा समितिका पूर्व अध्यक्ष अजित शेरचन, मार्फा थकाली समाजका अध्यक्ष दीर्घसिंह लालचन, निर्माता विमल शेरचन लगायतले शुभकामना दिएका थिए ।  अजुदा थापाको स्वर र सुनील थापाको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्माण शंकर शेरचन, किरण शेरचन, विमल शेरचन, उषा शेरचन, मदन गौचन र बालकुमारी गौचनले गरेका हुन् । भिडियोको निर्देशन दिनांक शेरचनले र मोडलिङ सिम्रन गौचनले गरेका छन् ।

(6)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *