Home News Nepal म्यादी प्रहरीमा युवा आकर्षण

म्यादी प्रहरीमा युवा आकर्षण

15
0

अर्जुन गिरी-
म्यादी प्रहरी बन्न सोमबारसम्म कास्कीमा ४ सयले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा चैत ११ गतेदेखि भर्ना खुलाएको छ । चार दिनमा ४ सय जनाले आवेदन भरेका हुन् । कास्कीमा म्यादी प्रहरी बन्न युवाको आकर्षण देखिएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले भर्ना पाउने व्यवस्था गरिए पनि ३० वर्षभन्दा कम उमेरकाले आवेदन भरेको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ । युवाको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालले बताए । ‘यस पटक कास्कीमा म्यादी प्रहरीका लागि संख्या नपुग्ने हो भन्ने ठूलो चिन्ता थियो,’ उनले भने ।

आवेदन दिनेको संख्या हेर्दा कास्कीलाई आवश्यक पर्ने म्यादी प्रहरी सजिलै पुग्ने उनले बताए । ‘कास्कीलाई चाहिने जनशक्ति मज्जाले पुग्छ,’ उनले भने, ‘यो जिल्लामा कति चाहिने हो भन्ने पछि थाहा हुन्छ ।’ म्यादी प्रहरी युवाका लागि अवसर समेत भएको एसपी अर्यालले बताए । ‘म्यादी प्रहरी भनेको राष्ट्रसेवक पनि हो र छोटो समयमा राम्रो आम्दानी पनि हुन्छ,’ उनले भने, ‘सेवा गर्न पाउने मौका हो । युवाका लागि नौलो अनुभव पनि हुन्छ ।’ म्यादी प्रहरीलाई नेपाल प्रहरीका जवानले पाए सरहको तलब, भत्ता र तोकिए बमोजिम अन्य सुविधा उपलब्ध गराउने व्यवस्था रहेको अर्यालले बताए ।
समय सदुपयोग गर्न म्यादी प्रहरीका लागि आवेदन दिन आएको स्याङ्जा घर भएका खड्कबहादुर रानाले बताए । ‘खाली समय काम ग¥यो भने केही पैसा नि आउने र केही सिक्न नि पाउने भएकाले भर्ना हुन आएको हो,’ फारम हातमा लिएर लाइन बसेका रानाले भने, ‘यतिकै बस्नुभन्दा काम गरेकै ठीक हुन्छ भनेर हो ।’ पृथ्वीनारायण क्याम्पस बगरमा स्नातक दोस्रो वर्ष अध्ययनरत रानासँगै तीन जना साथी पनि म्यादी प्रहरीमा आवेदन दिन आएका थिए ।
पाएको मौका छोप्न लमजुङ, बिचौरका २० वर्षीय मनोज गुरुङ पनि जिल्ला प्रहरी कार्यालय अगाडि लाइनमा थिए । ‘घरमा यतिकै बस्नुभन्दा पाएको मौका छोप्नुपर्छ भनेर आएको हो,’ उनले भने, ‘घर यतिकै बसेर दुई पैसा नि आउँदैन यता भर्ना भइहाल्यो भने केही भए पनि पैसा आउँछ र नौलो कुरा सिक्न पनि पाइन्छ ।’
बेरोजगार बस्नुभन्दा केही समय भए पनि काम पाइने भन्दै लाहाचोक घर भएका निशान अधिकारीले पनि आवेदन दिए । ‘केही काम नपाएको बेला यति काम भए पनि गर्न पाइन्छ,’ उनले भने, ‘म्यादी प्रहरीमा कस्तो हुँदो रहेछ त्यो पनि चाल पाइन्छ ।’
प्रहरी प्रधान कार्यालले देशभरबाट ७५ हजार म्यादी प्रहरी भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । सोही अनुसार कास्कीमा पनि चैत ११ गतेदेखि भर्ना खुलाइएको हो ।
कार्यालयले जारी गरेको सूचना अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी परिसर तथा ७५ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउ सकिनेछ । चैत ११ गते बिहान १० बजेदेखि चैत १७ गते साँझ ५ बजेसम्म दरखास्त दिने समय तोकिएको छ । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा संलग्न नभएको र कुनै नैतिक पतन नभएको नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको छ ।

तोकिएको समयमा दरखास्त दिएकाहरूले चैत १८ गते सम्बन्धित स्थानमा सम्पर्क गर्नुपर्ने र छनोट प्रक्रिया चैत १९ देखि २१ गतेसम्म चल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । चैत २२ गतेको नतिजामा नाम निकालेकाहरूलाई चैत २५ देखि वैशाख ८ गतेसम्म प्रशिक्षण दिइनेछ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ५५ दिनको हुनेछ ।  प्रहरी, सेना र सशस्त्र प्रहरीमा काम गरी अवकाश भएका पूर्व सुरक्षाकर्मी र यसअघिका निर्वाचनमा काम गरेका अनुभवीलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

(15)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *