Home Opinion गाउँ कहिले गाउँ फर्किएला ?

गाउँ कहिले गाउँ फर्किएला ?

1
0

अखवार हरुमा आउने गर्छ ‘वर्षेनी नेपाल बाट हजारौंको संख्यामा युवाहरु विदेसिन्छन्’।  कतै-कतै त च्वास्सै बिझ्ने गरी लेखिएको हुन्छ “युवाहरु विदेश पलायन हुन्छन्”। आफू पनि त्यहि झुण्डमा पर्ने हुनाले “विदेशिनु” या  “पलायन हुनु” यी परिभाषाहरु पटक्कै चित्त बुझ्दैनन्। भन्न मन लाग्छ – म विदेशिएको होइन, विस्थापित भएको हुँ।

मैले सोचे जस्तो म ती हजारौं युवाहरु, जसलाई पलायनको आरोप लगाइन्छ, उनीहरुको प्रतिनिधि पात्र पनि हुन सक्छु। र आफूलाई  विदेशिएका नभई ‘विस्थापित’ भएका युवाहरुको प्रतिनिधि पात्र सम्झिनु फगत एउटा स्वैरकल्पना मात्रै पनि हुनसक्छ। यही सन्देहकै वरिपरी अवस्थित छ मैले भोगेको वास्तविकता।

म यतिबेला नितान्त व्यक्तिगत कुरा गर्दैछु। मेरो जन्म पहाडी भूभागमा पर्ने वाग्लुङ्ग जिल्लाको मध्यमवर्गीय व्राह्मण परिवारमा भयो। मेरो बुवा रोजगारको सिलसिलामा कहिले कता कहिले कता भौंतारी रहेको अवस्थामा अभिभावकत्वको अभावमा छोरो बिग्रिने डरले आमाले मलाई काठमान्डौ पठाउनु भयो। स्थानिय सरकारी विध्यालयमा न्युनतम पारिश्रमिकमा अध्यापन गराउने मेरी आमाको कमाइले सानै परिवार पनि धान्न धौ-धौ हुन्थ्यो, यसर्थ मलाई काठमान्डौ पढुन्जेल वेलायात वस्ने मेरा काका-काकीले प्रायोजन गर्नुभयो।

+२ पनि पास गरे पछी सानै देखिको इन्जिनियर बन्ने सपना बोकेर इन्जिनियरिङ्ग तयारी कक्षा संचालन गर्ने एक इन्स्टिच्युटमा गएँ। जहाँको भर्ना शुल्क भन्दा सस्तो थियो IELTS को परिक्षा शुल्क।

इन्जिनियरिङ्गको प्रवेश परिक्षाको लागि घरैमा वसेर तयारी गर्न पनि सकिन्थ्यो तर साझ बिहान प्राइभेट ट्युसन पढाउने र दिउसो एक निजि विध्यालयमा पढाउने हुनाले सो जोखिम मोल्ने आँट आएन। पढाउन छोडीदिउँ – काठमान्डौमा घर भाडा र न्युनतम रासन पानी जुटाउने अर्को उपाय थिएन। इन्जिनियर बन्ने सपनालाई सपनै सम्झिएँ र बि.एस.सी का लागि भर्ना हुन त्रिचन्द्र गएँ। भर्ना साखामा सबै कागजात लगेर जाँदा पनि “स्ववियु मा बुझ्नुस” भन्ने जवाफ आयो। स्ववियु अन्तर्गत लगभग सबै जसो संगठनका कथित ‘नेता’ हरुलाई भेट्दा अर्को रहस्य थाहा भयो, त्रिचन्द्रमा पढ्नका लागि भर्ना नगरे पनि हुने रहेछ। पढ्दै गर्ने र जांच आएपछि फारम भर्नु अगाडी भर्ना गरे हुने रहेछ। अझ अचम्मको कुरा “स्ववियु चुनावका वेला भर्ना सित्तैमा’ हुने रहेछ।

३५-४० वर्ष उमेरका भए पनि विद्यार्थी नेताहरु निकै जाँगरिला हुँदा रहेछन्। बिहान ४:४५ मा क्याम्पस पुग्दा पनि उनीहरु गेटैमा तैनाथ हुन्थे, हात मिलाउन। कारण, चुनाव नजिकिंदै थियो। केहि लेक्चरर हरु समेत कति सम्म लाचार भने, विद्यार्थी नेताहरुले काँधमा हात हालेर कक्षामा ल्यायी  “वहाँ फलानो सर, तिमीहरु लाई यो विषय पढाउनु हुन्छ” भनी परिचय दिनु पर्ने। यीनै घिनलाग्दा शैक्षिक वातावरणहरुले नेपालमा बसेर पढ्ने मन पुरै मरेर आयो। गाउँका अधिकाम्स बुज्रुकहरु विदेशमा हुनु, रोजगार भैकन पनि गुजारा चलाउन धौ-धौ हुनु, महँगो भएकै कारण शिक्षा ‘किन्न’ नसक्नु, विकसित राजनीतिक घटनाक्रमले हिनतावोध हुनु लागायतले गर्दा अन्तत: म विस्थापित भएँ र आज अष्ट्रेलियाबाट देशमा हुन नसक्नुको पिडावोध गर्दै छु। यसरी विस्थापित हुनेमा म एक्लो भने होइन। सुन्दैछु विस्तारै गाउँहरु विस्थापित हुँदैछन्। सुन्दैछु विस्तारै मेरो देश नै विस्थापित हुँदैछ

मैले ६ कक्षा सम्म वाग्लुङ्गकै सरकारी विध्यालयमा पढें जहाँ मसंग पढ्दा-पढ्दै ‘भागेर’ दिल्ली गएका ४-५ जना साथिहरु सम्झिन्छु जो त्यति बेला बढीमा १५ वर्षका हुँदा हुन्। म वाग्लुङ्ग छँदै मेरो गाउँका अधिकाम्स वयस्कहरु वेलायत, जर्मन, मलेशिया, दुवै, भारत(दिल्ली, देहरादुन, मद्रास) हुनुहुन्थ्यो। मलाई अझ सम्म याद छ त्यतिवेला ठुलाबडाले आशिर्वाद दिंदा “ठुलो भएर जापान जर्मन गएस् , मस्तै कमाएस्” भन्नु हुन्थ्यो। आशिर्वाद लागेरै होला मेरो गाउँमा अब १६ वर्ष माथिका एकआध भाइसाथि हरु मात्रै बाँकी छन् जो गोजीमा पासपोर्ट बोकेर विदेशिने अवसरको पर्खाइमा छन्।

दुखको कुरा के हो भने अब गाउँ भन्न लायकको ‘गाउँ’ बाँकी छैन। दशैं तिहारमा घर जाँदा जोसँग पिङ्ग खेलिन्थ्यो, जोसँग देउसी-भैलो खेलिन्थ्यो ति भाइ बहिनीहरु प्राय: अहिले जापान छन्। सपरिवार विदेशिएर कमाउने प्रथाको शिकार बनेकाछन् देशका कलिला भविष्यहरु। मेरै गाउँबाट एस.एल.सी समेत पास नगरेका, नागरिकता बनाउने उमेर समेत नभएका धेरै भाइ बहिनिहरु अहिले जापान छन्। सम्झिँदा यस्तो लाग्छ, विदेश पठाएर धन कमाउनकै लागि सन्तानहरु उत्पादन गरिन्छ, नया नेपालमा।

यसरी कमाएको धनले सक्नेले काठमान्डौ, चितवन एवं पोखराका सहरहरुमा घर बनाउने क्रम तीब्र छ। नसक्ने हरुले पनि परिवार सदरमुकाम सम्म भए पनि लतार्न चाहन्छन्। अन्तत: गाउँ पनि विस्तारै विस्थापित हुँदै छ, म जस्तै। गाउँ विस्तारै खण्डहर बन्दै छ।

म उमेर बाँकी छँदै गाउँ फर्किन चाहन्छु र गाउँमै केन्द्रित भएर केही उत्पादनमुलक काम गर्न चाहन्छु। तर यथार्थ ठ्याक्कै उल्टो छ। म जुन गाउँ फर्किन चाहन्छु, त्यो गाउँ बाँकी छैन। अलिकति गाउँ सदरमुकाम पसेको छ, अलिकति गाउँ पोखरा चितवन र काठमान्डौ। म सोचिरहेछु, गाउँ कहिले गाउँ फर्किएला र फर्कीउँला म ?

(सेतोपाटी बाट साभार गरिएको) 

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *