मुदिर

मुदिर

ज्यान सिमलको भुवाझँै हलुका थियो । शरीरमा अलग खालको उर्जा पलायो । भोलिदेखि धूलोमैलोमा खेल्नुको विकल्प थिएन । त्यसमाथि राँै उखेलपाखेल पार्ने अरबको तातो पानी । नुहाउँदा पोले पनि नुहाएपछि मज्जा आयो ।
गर्मी–जाडो दुवैमा पानी तातै हुन्छ । गर्मीमा ज्यादा । जाडोमा अलि कम । नेपालमा अनेक किम्वदन्ती सुनेर तातोपानी पुग्छन् चोबलिन । यहाँ भने बाह्रै मास तातो । बाहै्र मास तातोपानी तीर्थ ।
नुहाइसकेर दुई जोर लुगा धुन भ्याएँ । बाहिर सुकाइ साध्य हुन्नन् कपडा । धूलो र बालुवाले पोतिन्छ । धोएको नधोइ हुन्छ क्षणभरमै । सरासर माथिल्लो तलामा पुग्ने भ¥याङ्तिर चढँे । सिँढीको छेउमा फलामको बार लगाएको थियो । धोएका कपडा बारमा अड्याएँ । बेस्सरी निचोडेँ । निचोडेका कपडा एक–एक गरेर फिजाएँ । अनि सीधै कोठामा छिरेँ ।
कोठमा छिर्दा हटकको सब्जी, राँगाको सुकुटी र हेर्दा राम्रो देखिने चामलको भात तयार थियो । भाँडै चबाऊँ भइरहेको थियो भोकले । झन मगमग बास्नाले भोकलाई गिजोलिरह्यो । कति धेरै समय लगाएँ हुँला नुवाइधुवाइ गर्न । उसले भात तरकारी पकाउन भ्याइसकेछ ।
सुकुटी राखेको झोलामै थियो पेण्टी । जिप खोलेर निकालेँ । ‘छ्या तँैले भित्र लगाउने भाँडो नि यसैमा राख्या थिइस् । अब यो सुकुटी खाइ भएन,’ ऊ बेस्सरी छिल्लियो ।
म अपलक उसैलाई हेरिरहेँ ।
‘बस्, खाना खाऊँ अब,’ मामाकै भूमिका निर्वाह ग¥यो । उसले मप्रति देखाएको उदारताको मुक्तकण्ठले प्रशंसा गरिरहेँ ।
जारबाट पानी सा¥यो । थाल, गिलास, बटुका सबै निकाल्यो । भात पस्क्यो नबोलीकनै । मेरो पेटले पस्कुञ्जेल पनि पर्खन अबेर भो भन्दै थियो । कटौरीमा हटकको सब्जी भाग लगायो । भात झिक्ने र सब्जी झिक्ने एउटै पनिउ । भातको छेउमा सुकुटी राख्यो । पानी निकालेर पनि गिलास रित्तै थियो । उसलाई सघाउनका लागि जाँगर थिएन मसित ।
‘लु, खान सुरु गर,’ आफू एक कदम पछाडि हटेर बोल्यो ।
यसै पनि भोकले बिच्किएको म । सुरुमै खपाखप खानैमा ध्यान गयो । उसलाई पनि पर्खिरहन सकिनँ । भातको गाँस मुखमा लाँदै गर्दा देखेँ– ऊ झन एक कदम पछाडि हट्दै थियो ।
‘के भो ?’ गाँसको बुजो लगाएको मुख माथितर्फ उधिन्दै सोधेँ ।
‘केही पनि हैन,’ मुण्टै हल्लाएर जवाफ फर्कायो । एक छिनपछि एउटा सेतो बोतल हातमा निकाल्यो ।
बोतलसम्म पुग्न पो पछाडि हटेको रैछ बजिया ।
सेतो । छर्लङ्गै सेतो । बोतल सेतो । बोतलभित्रको तरल पदार्थ सेतो । हातले करक्क निमोठेर बिर्को उप्कायो । तररर… गिलासमा खनायो । बल्ल भरिने भयो खाली गिलास । अलिकति पानी मिसाउन बिर्सेन उसले ।
‘चियर्स,’ गिलास जुधाउँदै बोल्यो ऊ । म दाहिने हातले भात खाइरहेकै थिएँ । देव्रे हातमा खजुरबोटेको गिलास लिएँ । ‘चियर्स,’ मेरो मुखबाट पनि अस्पष्ट स्वर निस्कियो । दुवैले एकसाथ सुरु ग¥यौँ पिउन ।
पिउनुको आनन्द नपिउनेलाई थाहा हुँदैन क्यार ।
खाडीमा अत्याधिक लोकप्रिय ब्राण्ड छ ‘ब्लुमुन’ । जसलाई नेपालीहरूले ‘खजुरबोटे’ नाम दिएका छन् । ब्लुमुन एउटा रासायनिक अखाद्य पदार्थअन्तर्गत पर्छ । यो भुइँँ सफा गर्दा प्रयोग हुने रसायन हो । तर, खाँदा नशाजस्तै लाग्छ, मताउँछ । अनि हामीजस्तै अरब पसेका धेरै मजदूरहरूले रक्सीको रूपमा पिउँछौँ यसलाई । पैसाको हिसाबले पनि अरूभन्दा सस्तो नै पर्छ खजुरबोटे ।
सात सय रियाल बेसिक सेलरीमा ब्राण्डेड रक्सी किनेर खान सके पो खानु !
एउटा अर्को ब्राण्ड छ यहाँ । जसको नाउँ हो– लुमा । यो पनि एक प्रकारको ट्वाइलेट क्लिनर हो । कतारी शेखका घरमा यो पदार्थले ट्वाइलेट सफा गरिन्छ । किन्तु, हामीजस्ता मजदूरमाझ रक्सीको नामले हदै चल्छन् खजुरबोटे र लुमा । जसरी चल्छन् बिडीँ, गुट्खा र खैनीहरू ।
यिनै दुर्ई अखाद्य पदार्थ हाम्रा लागि लोकल जाँड साबित भइदिन्छन् ।
कतारमा मृत्यु हुने नेपालीहरूको सङ्ख्या एकदमै डरलाग्दो छ । जसमध्ये प्रमुख कारण हृदयघातलाई मानिन्छ ।
दिनभर पचास डिग्रीभन्दा बेसी तापव्रmममा काम गरेर फर्किनु, लगत्तै नुहाइहाल्नु, एसीमा बस्नु, खाना राम्रोसँग नखानु, ननिदाउनु र खजुरबोटे अनि लुमाजस्ता घातक पदार्थको सेवन गर्न‘को प्रतिफल नै हृदयघात हो । यो सङ्ख्या वार्षिक रूपमै बढ्दो छ भन्छ सरकार ।
हामीलाई यी सबै कुरा थाहा छ । लुमा, खजुरबोटे खानु स्वास्थ्यका हिसाबले पनि बेफाइदा छ । हाम्रो पनि घर छ । परिवार छ । चिन्ता लिनेहरू छन् । तर, नखाई बस्न कसै सकिँदैन । कहिले कम्पनीको तनाव भुल्न पिउनुपर्छ, कहिले घरको तनाव भुल्न ।
अँ, घर भन्दा सम्झिएँ, बूढीको खूब याद आइरहेको थियो ।
आखिर पानी नै हो । पानीजस्तै हुन्छ । पानीको रङ, आकार छ । पानीको जस्तै भेद छैन पानीमा । पानीजस्तै लाग्ने पानी छ । तर, फरक छ पानीको स्वाद । फरक छ पानीले प्रदान गर्ने जीवन्तता । फरक छ प्यास बुझाइको तरिका । कति हो कति टाढा छ पानीसँगको पवित्रता । पवित्रतासँग जोडिएको पानी । त्यही खजुरबोटे, झनझनाउने पानी दुर्ई गिलासजति सिनित्तै पा¥यो उमेशले ।
‘यार् सुकुटी त बब्बाल रैछ नि हउ,’ बोलीको लय पूर्व–पश्चिम जाँदै आउँदै गरेजसरी बोल्यो । थाहा पाइसकेँ, उसको सिङ्गो शरीर दुई गिलास पानीको नियन्त्रणमा आइसकेको थियो । झट्ट उसले भनेको सुकुटीको कुरा सम्झेँ । र भनेँ, ‘अँ, यार दाम्मी हुँदो रैछ सुकुटीको सितन बनाई खानु ।’
के बुझ्यो खै उसले । गलल्ल हाँस्यो । मैले पनि हाँस्दै सोचेँ– पानीले पानको पात देखाइरहेको छ उसलाई ।
खाना खाइवरी पल्टिएका हामी अपराह्नतिर ब्युँझियाँै । लामो तन्द्राबाट ब्युँतेजस्तो लागे पनि खासै बितेको केही थिएन । ड्युटी गएका अन्य साथीहरू आइपुगेका थिएनन् । आइहालेका भए पनि खासै तामसी निद्रालाई कुनै प्रभाव नपर्दो हो । आइदिएनन् त ठीकै प¥यो हामीलाई ।
बिस्तारै ओझेल पर्न थाल्यो स्मृतिमा सल्बलाइरहेको गाउँघर । आँखामा नाचिरहेको मयुरी प्रतिविम्ब । घरपरिवार, श्रीमती, जिरोङ, मलन दोभान, ढडेनी दोभान, कटारी बजार, काठमाडौँ यी सबका सब । अब तिनीहरू को पो हुन् भनेजस्तो लाग्न थाल्यो । कारण यहाँको तातो हावाले स्पर्श गरिसकेको थियो । यहाँको पानीले चिन्यो । यहाँ आएपछि सबै यहीको रवैया बन्यो ।
खजुरबोटेले यही आएर बिर्सायो । यहाँ खाएँ, यही ट्वाइलेट बसेँ । यही कमाइ । यही खर्च । यही दुःख । सुख त इस् पाउनु मैले । जे हुनु यही खाडीमा हुनेछ । जे नहुनु हो त्यो झन भइछाड्ला । फेरि एकपटक नेपाली हुँ भन्ने बिर्सेर कतारको खाडीसँग साउती लगाएँ । आत्मसमर्पणको क्यालेण्डर पल्टाएर आफ्नै छातीमा परतन्त्रको चिह्न लगाएँ ।
ब्यँुझेपछि पुनः फ्रेस भयाँै । आँखा टमाटरजस्तै थिए, पाकेर । चुँडेर खाइहाल्न नमिल्ने । अफिस जाने सल्लाह भयो साथीसँग । ‘पैसा छैन’ भनेर पहिल्यै जानकारी गराएँ उमेशलाई । ‘म छु नि यार,’ लरबराउँदै भन्यो । अझै पनि व्यथा लागेको उसको बोली पकडमा आइसकेको थिएन ।
बाहिर निस्कँदा जुत्ताको गन्धले भकभकी पनि पकाएन । पच्यो सायद । जसरी गेटबाट प्रवेश गरेका थियौँ, उसैगरी बाहिरियौँ । केहीबेर गेटबाहिर उभियाँै । उभिँदै गर्दा उसले चुरोटको सर्काे लगाउन थाल्यो । मैले रेडिमेड बलजीत खैनीको लाभ लिएँ ।
एउटा कारवाको ट्याक्सी हुँइकिरहेको थियो । हात दिएर रोक्यो साथीले । उसैले कुराकानी ग¥यो । ‘बस् डम्बे,’ चुरोटको ठेट्नो मिल्काउँदै भन्यो । सुर्ती राखेको हात टक्टक्याएँ । ट्याक्सी चढेर सीधै अफिसतिर लाग्याँै ।
+++
हाम्रो देश नेपाल । ‘ने’ हटाएर ‘पाल’ जत्तिको आड भरोसा पनि छैन दीन दुःखीलाई । सरकार त आँधीबेहरीजस्तै हो । ‘पाल’ टाँगेर कदापि थेगिँदैन । वास्तवमा सरकारले के गर्छ, गराउँछ त्यो पनि थाहा छैन मलाई । यत्ति मात्रै जान्दछु– सरकार पनि हामीजस्तै मानवीय प्राणीले चलाउने संयन्त्र हो ।
एकातिर राज्य रेमिट्यान्सले थेगेको छ भन्ने कुरा सुन्छु । सायद मजस्ता लाखौँ वैदेशिक रोजगारमा जानेहरूले सरकारलाई तिरेको कर नै रेमिट्यान्स होला । झण्डै तीस लाख हाराहारीको जनसङ्ख्या नेपालभन्दा बाहिर छ भन्छन् । तैपनि राज्यको प्रणाली सुचारु छैन । कुपोषणग्रस्त छ देश । कहिलेकाहीँ त नेपाली हुनुमा समेत लज्जाबोध हुन्छ आफैँलाई । शिर रहँदारहँदै पनि काटिएजतिको दुख्छ ।
स्वच्छ र हराभरा हाम्रो देश जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो अरे ⁄ शान्तिका प्रतीक गौतम बुद्ध अवतरित भूमि । सुम्निमा पारुहाङको पवित्र भूमि । भृकुटी, सीता जन्मेको तपोभूमि । ऋषि महर्षिहरूले तपस्या गरेको तपस्यास्थल । अग्लाअग्ला सेताम्मे पहाडहरूकोे देश । तर, कसैले मेरो दुःख सुनेनन् । बगाएनन् । हो, हराभरा भएर झाङ्गियो क्लेश जीवनमा । अथाह समुन्द्रजस्तै ताल परिरह्यो एकै ठाउँमा समस्या । जति नै पवित्र भूमि भए पनि बदलामा हरियो नेपालको चिनोस्वरूप सरकारले हरियो राहदानीमा छाप लगाएर खाडीमा श्रम बेच्ने इजाजत दियो ।
अफिस नपुगुञ्जेल यस्तै कुराहरू खेलिरहे बाटैभरि ।
यहाँ लेबरसँग पासपोर्ट राख्ने अनुमति छैन । सरकारको नीतिमा भए पनि कामदार स्वयम्ले राहदानी राख्न कम्पनीहरूले दिँदैनन् । जुन कम्पनीमा जति विश्वासको पात्र बनेर भूमिका निर्वाह गरे पनि कम्पनीले कहिल्यै विश्वास गर्दैन । झन नेपालीहरूलाई त गर्दै गर्दैन ।
मलाई ज्यादै दुःख लाग्छ, जब राहदनी विनाकसुर कसैको हातमा चुपचाप थमाइदिनुपर्छ । किनकिन सरकारलाई पर्दापछाडि राखेर राहदानी आफ्नै पैतृक सम्पत्ति हो, लाग्छ । जसको उपभोग गर्ने अधिकार सम्बन्धित पक्षलाई हुन्छ । मेरो र मेरो देशको अस्मिता लुटिएको छ भन्ने सम्झिएँ आफैँले । राहदानीको छातीमा कुलो पटाएर परिश्रमका पसिना बगाउने मजस्तो न्यून मजदूरको श्वास–प्रश्वासको रिमोट पनि मुदिरसँगै हुन्छ । उसैको आज्ञानुसार नरिँग्ने हो भने यहाँ जतिसुकै बेला जेसुकै पनि हुन सक्छ ।
लागेको हो नि देशको माया । चिरिएको हो नि छाती चर्चर् । उठेका हुन् देशप्रति असह्य तृष्णाका तरङ्गहरू । देशमा ‘देश’ छैन । तसर्थ खल्तीमा आफ्नो देश बोकी हिँडेको छु । तर, यी सब मीठा भ्रमसिवाय केही थिएनन् मेरा । पहाडको पानीले छाँटे–काँटेको मान्छे । खाडीमा नपग्लिईकन गुजारा थिएन ।
पहिलोपटक ठूलो प्लेन चढेर आउँदा लागेको थियो– मेरै सुरक्षाको लागि कम्पनीले राहदानी राखिदिन्छ । जसरी मामाले आफ्नो काखमा बच्चा राख्छिन् । कुखुरीले पखेटाको सहाराले चल्ला च्याप्छे । तर, यो पनि भ्रमभित्रैको उपभ्रम रहेछ मेरो । वास्तविक कहानी त अकैँ रहेछ ।
ट्याक्सीबाट दुवैजना झ¥याँै । उमेश अगाडि ड्राइभरसँगैको सिटमा थियो । अगाडिको ढोका खोलेर झ¥यो । म पछाडि थिएँ, पछाडिबाटै झरेँ । उसैले ति¥यो लागेको रकम । पार्किङ नपाएर ट्याक्सीले दुई मिनट वरै रोकिदिएको थियो । त्यहाँबाट पैदल हिँडेर अफिसको बिल्डिङसम्म पुगियो । केही सिँढी । लिफ्ट । अलिकति करिडोर हिँड्दै अफिसको ढोकैसम्म पुगेर भित्र पस्ने इजाजत लिइयो ।
जस्ताकोतस्तै थियो मालवारी मुदिर । म सदाको पीडित जस्ताकोतस्तै । मुदिर पीडकको रूपमा जस्ताकोतस्तै ।
बारबार बाँझिने एउटै कुरा थियो ‘सेलरी’ । यस्तै थियो कम्पनी ।
‘कब आया बादुर,’ कफी पिउँदै रहेछ । अन्तिम चुस्की लिँदै मुदिरले सोध्यो ।
‘आज सुबह आया जी,’ मैले सोझो जवाफ फर्काएँ ।
‘ये पासपोर्ट,’ मुदिरले माग्नुअगावै स्मरण गराएँ । मैले यति नभनेको भए पनि आखिर उसले मागि छाड्थ्यो पासपोर्ट । बरु इमान्दारिता पस्कने निहुँमा आफैँ फ्याट्ट बोलेँ ।
‘हँ…..हँ देदो,’ आत्तिँदै भन्यो । फेरि छातीमा ढुङ्गो राखेर हरियो पासपोर्ट जिम्मा लगाइदिएँ ।
‘कल से कुछ टाइमके लिए स्कुल में काम करो, हाँ । बाद में और देखेगा,’ भोलिपल्टबाट नै ड्युटी हाजिर हुने आदेश दियो मुदिरले ।
‘इन्सल्लाह,’ योबाहेक धेरै बोलेर मुख दुखाइरहन चाहिनँ ।
बिचरा ! सँगै आएको उमेश दिवारको अडेस लागएरै बसिरह्यो । चुइँक्क एक शब्द पनि बोलेन । लाग्यो– मेरो प्रतिपक्ष बनेर मुदिरले भनेका हरेक कुरामा मौन सहमति जनाइरहेको छ ऊ ।
+++
औपचारिक रूपमा कामको नाउँ जप्दै उमेरको डुङ्गा खियाउने नियति फेरि सुरु भयो । हिजोसम्म धूलो झार्दै स्वाँठ पल्टेर हिँड्ने मन बुकीफूलझैँ फुलिदियो । लगभग नफर्किने मनस्थितिको साँघु तरेर नेपाल हान्निएको म फेरि पैसाको अनुयायी बनेर आइनैप¥यो । अब पक्कापक्की भयो, कसैगरी जिन्दगीको बाजी जित्न सक्दिनँ मैले ।
यो धर्तीमा पैदा हुने प्रत्येक मान्छे मामाको (आमा) गर्भबाटै निक्लँदो हो । लात्ती मामालाई नै हान्दो हो । मामाकै दूध चुसेर बाँच्दो हो । जन्मनेबित्तिकै उसैगरी ‘च्याँ’ गर्दो हो । तर, सबैले समान रूपमा भोगेको सजायमाथि कति निरीह फैसला गर्छ समयले ? उही मामाको गर्भमा बसेर आउनेहरूको किन फरकफरक भाग्य र भूमिका लेखिन्छ होला ? कसरी वर्गीय भेदको सिमाना कोरेर धनी–गरीब, सानो–ठूलोको आँकडामा वर्गीकरण हुन्छन् मान्छेहरू ?

मलाई सुम्निमा र पारुहाङसँग पनि यही कुरा सोध्नु छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *