तीज हिन्दुकाे चाड हाेइन नेपालीकाे चाड बन्न सक्छ

शिर्षक पढेर गैर हिन्दु पाठक मज्जाले बम्किनुभयाेहाेला । बम्किनु स्वभाविक पनि हाे, तर गुदी कुरा बुझ्नुहाेस्, त्यसपछि पनि चित्त बुझेन भने शब्दकाे गतिलै दनक दिनुहाेला ।  याे लेखकाे उदेश्य कुनै धर्म समुदायलार्इ घाेचपेच गर्न हाेइन । यसकाे उदेश्य त कसरी तीजलार्इ सबै नेपालीकाे साझा बनाउने र कसरी उपलब्धीमूलक बनाउने भन्ने कुरालार्इ उजागर गर्नु हाे, राम्रा नराम्रा पक्षलार्इ केलाएर उत्कृष्ठ चाड बनाउनु हाे ।

विषय प्रबेश एउटा प्रश्न बाट गर्छु । याे बर्षकाे तीज लगभग सक्याे । नमाउने पाठकलार्इ त ठिकै छ । तर जाे जसले अाजकाे तीज मनाउनु भयाे उहाँलार्इ एक प्रश्न छ । मनैदेखि उत्तर दिनुहाेला । के साँच्चै अाफ्नाे शरीरलार्इ दुःख दिएर पानी पनि नखार्इ दिनभरी नाचगान गरेर रमाउँदा केहि उपलब्धि भयाे त ? के साँच्चै तपाँर्इकाे श्रीमानकाे अायु बढ्छ त ? या पाैराणीक कथामा बाहेक कतै बढेकाे देख्नुभएकाे छ त ? के अबिबाहित नारीले वर्त बसेर असल श्रीमानकाे अपेक्षा गरेर मात्रै असल श्रीमान पार्इन्छ त ? याे उत्तरकाे खाेजीमा रहेकाे प्रश्न मात्र हाे  ।

याे प्रश्न सँगै मैले बुझेकाे तीजकाे बारेमा बताउँछु । तीज हिन्दुहरूकाे महान चाड हाे । तीजमा चेलीहरुको विरह सुःख,दुःख , श्रीमान श्रीमती बीचको सम्बन्ध , चेली माइतीको सम्बन्धहरु विश्लेषण गर्ने र माइतीसँग सररल्लाह गर्ने चाड हाे । केहि बर्षयता तीजकाे परिभाषा अलिकति माेडिएकाे छ । दर , भोको पेटको ब्रत अनि रातो सारीमा छमछमी नृत्य । अब अर्काे प्रश्न तेर्छाउँ । महिलाहरूकाे महान चाड तीज भन्ने गरिन्छ ।  दर, भाेकाे पेट र छमछमी नृत्यमा कहाँ छ त महानता ?

महिलाले पढ्नै पर्ने कुरा

महिलाहरूले तीजलार्इ अबसरकाे रूपमा लिन सक्नु पर्छ । दर, भाेकाे पेट , नृत्यकाे बिराेधी हाेइन म । म त झन चिन्तित छु कि तीज जस्ताे अबसरलार्इ महिला दिदीबहिनीले किन अबसरकाे रूपमा लिन सक्नुभएन ? सामान्यतः महिला हरूकाे भेला गाेष्ठी कमै हुने गर्छ । भेला गाेष्ठीहरूले मानिसकाे सामाजिक, अार्थीक र राजनीतिक चेत खुलाउन मद्दत गर्छ । महिलाहरू पुरूषभन्दा कम संख्या मा  यस्ता गाेष्ठीहरूमा भेटिन्छन् । महिलाहरूले तीजकाे भेलालार्इ मनाेरन्जनात्मकता साथै चेतनामूलक रूपले सदुपयाेग गर्न सके याे चाडले हिन्दु मात्र हाेइन अरू धर्मका महिलालार्इ पनि तान्न सक्थ्याे । यति भनिरहँदा महिलाहरू प्रश्न साेध्नुहाेला “एकदिन बल्ल तल्ल पाएकाे दिनमा पनि रमार्इलाे नगर्नु ?, अन्य दिन त चुलाे चैका र घरधन्धा मा नै समय हुँदैन” । के चुलाे चाैका र घरधन्धा महिलाकाे मात्र काम हाे त ? हाेइन नी । हाेइन भन्ने थाहा हुँदा हुँदै किन याे सब भएकाे हाे ? चेतनाकाे अभाव । याे चेतना नभएकै कारण महिलाले कम अबसर पाएका छन् । त्यसैले यस दिनलार्इ मनाेरन्जानत्क मात्र हाेइन चेतनामूलक बनाउनु पर्छ, उपलब्धिमूलक बनाउनु पर्छ र भनिएजसरी साँच्चै महान बनाउनु पर्छ ।

तीज सँग सँगै अाउँछ यसकाे चलिअाएकाे परम्परा । चलन अनुसार राताे साडी लगाएर महिलाहरू सजिन्छन्, यसमा तडक भडकतका साथै कसकाे कति गरगहना मूल्यवान भनेर दाजिन्छ, याे विकृती हाे । तीज मनाउन राताे नै साडी र महँगा गरगहान नै नलगाए पनि हुन्छ भन्ने कुरा महेन्द्रनगरमा अाजकाे एक दृश्यले बताइसकेकाे छ । त्यहाँकाे महिलाहरूकाे तीजकाे दृश्य बेग्लै देखियो । केहि दिन अगाडि मात्र निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कञ्चनपुरका महिलाहरु रातो सारी थन्काएर कालो साडीमा सडकमा देखिए । याे महिलाहरूकाे श्रृजनशील कार्य हाे, चेत हाे , अनि मैले परिकल्पना गरेकाे जस्ताे तीज हाे । उक्त भेलामा पक्कै पनि हिन्दु महिला मात्र अाएनन् हाेला । महिलाकाे अधिकारकाे पक्षधर हरेक समुदाय, धर्म र जातजातीका महिला उपस्थित भए हाेला । दुःखद घटनाकाे विरूद्ध जम्मा भएकाे भए पनि कुनै परिणामकाे लागि त भेला भएका त हुन् नी, एक बालिकाकाे न्यायकाे लागि भेला भएका हुन । यसरी पनि महिलाहरू एकजुट हुन सक्छन् । यसरी पनि तीज मनाउन सकिन्छ । यस्ताे तीजमा पक्कै सबै जात जाती, धर्म, सम्प्रदाय र भूगाेलका महिला हरू एकजुट गराउन सकिन्छ । यसरी  तीज हिन्दुकाे मात्र हाेइन, हरेक नेपाली महिलाकाे महान चाड बन्न सक्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *