जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”

जेठ ३०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा छ भन्न थालेका छन् । सबैलाई थाहा भएकै कुरा हो, नेपालमा लोकतन्त्रको कोही सच्चा पहरेदार र हिमायती छ भने कम्युनिस्टहरू नै छन् । लोकतन्त्र ल्याउनका लागि सबभन्दा बढी रगत पसिना कम्युनिस्टहरूले नै खर्च गरेका छन् । हो, नेपाली कांग्रेस पनि एउटा लोकतान्त्रिक पुरानो दल हो, उसले पनि लोकतन्त्रका लागि संघर्ष गरेको छ ।

कांग्रेसका नेताहरूलाई किन दृष्टिभ्रम भइरहेको छ र उनीहरूले बारम्बार लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा देखिरहेका छन् ? अहिले नेपाली कांग्रेस नेपालमा राणाशासनको जग बसाल्ने जंगबहादुर राणाको नियतिबाट गुज्रिरहेको प्रतीत हुन्छ । त्यति शक्तिशाली शासक जंगबहादुर राणाले जीवन अन्तिम क्षणमा पत्थरघट्टामा पुग्दा सेता बाघ देखेका थिए । कांग्रेसले त्यसैगरी अहिले कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा देखेको छ ।

नेपालका हरेक राजनीतिक परिवर्तनमा कांग्रेस र कम्युनिस्टहका बीचमा सहकार्य छ । जब यी दुई शक्ति मिलेका छन्, निरंकुश शक्ति पराजित भएको छ, लोकतन्त्र बलियो भएको छ । यसरी काँधमा काँध मिलाएर सँगै लडेको शक्तिलाई लोकतन्त्रविरोधीका रूपमा चित्रित गरेर कांग्रेसका नेताहरूले आफ्नो औचित्यमाथि आफैँ प्रश्न उठाइरहेका छन् ।

कांग्रेसका नेताहरूका कुरा कांग्रेसकै कार्यकर्ताले पत्याइरहेका छैनन् । डडेल्धुरा पुगेर सभापति शेरबहादुर देउवाले आफ्ना कार्यकर्तासँग गुनासो गर्नुभएको छ, तिमीहरू खाली मेरो विरोध गर्छौ, केपी ओलीको विरोध गर्दैनौ ।

दुई कम्युनिस्ट पार्टी एकीकरण भएर एउटै बलियो र विशाल कम्युनिस्ट पार्टी बनेपछि कांग्रेसका नेताहरूमा छटपटी बढेको छ । यसबाट एक त बीचबीचमा सत्ताको खेल खेल्न र कुनै पनि सरकारलाई टिक्न नदिन बानी परेका कांग्रेसका नेताहरूको पेसा खोसिएको छ र पाँच वर्ष मुलुकमा कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकार सुनिश्चित भएको छ ।

कांग्रेसका केही नेताहरूले आफू सत्तामा रहनु नै लोकतन्त्र बलियो हुनु हो भन्ने भ्रम छ । अब कम्युनिस्टहरूको दुई तिहाई बहुमत भएपछि आफ्नो औचित्य सकिने भयो भनेर उनीहरूले लोकतन्त्रको दुहाई दिए पनि आफ्ना अयोग्यताहरू जनताबीच छताछुल्ल हुने भए भन्ने कुराले पिरोलेको छ । बरु लोकतन्त्रलाई कहाँबाट खतरा छ भनेर इतिहास खोतल्दै जाने हो भने सुई कांग्रेसतिरै सोझिन्छ ।

इतिहासमा यति सपाट तथ्यहरू हुँदाहुँदै कांग्रेसका नेताहरू कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा देख्नु जीवित इतिहासमाथि कालो पर्दा हाल्नु मात्र हुन्छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *